नवाजुद्दीनले अब ओटीटीमा काम नगर्ने

काठमाडौँ । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी अब ओटीटी शोमा नदेखिने भएका छन् । पछिल्लो समय डिजिटल प्लेटफर्मको कन्टेन्ट देखेर निराश भएका उनले काम नगर्ने घोषणा गरेका हुन् ।
नवाजले बलिउड हंगामासँग कुराकानी गर्दै भनेका छन्, ‘ओटीटी प्लेटफर्म अब फोहोरी र घटिया क्वालिटी कन्टेन्टका लागि डम्पिङ ग्राउन्डको जसरी काम गरिरहेको छ । या त अब डिजिटल प्लेटफर्मका लागि राम्रो शोहरु नै छैनन् या त यहाँ पुरानै शोको सिक्वेल बेच्नुको कुनै विकल्प छैन । जसमा अब देखाउनका लागि केही पनि बाँकी छैन ।’
उनले नेटफ्लिक्सका लागि ‘सेक्रेड गेम्स’ सिरिज गर्ने समयमा आफू निकै उत्साहित रहेको भए पनि अहिले भारतका ठूला प्रोडक्शन हाउस र ओटीटीका सुपरस्टार कहलिने सो-कल्ड कलाकारका लागि कमाई गर्ने राम्रो धन्दा बनेको बताएका छन् । निर्मातालाई धेरै कन्टेन्ट बनाउन पैसा मिलिरहेको र जसका कारण ओटीटीमा क्वालिटी सकिएको उनको तर्क छ ।








