‘कठपुतली’लाई अमेरिकामा अवार्ड

काठमाडौँ । हरर चलचित्र ‘कठपुतली’ले अमेरिकाको प्रतिष्ठित इन्टरनेसनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा अवार्ड जित्न सफल भएको छ । सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा चलचित्रले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो ।
फेस्टिभलमा यो चलचित्र ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो ।
हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’ अमेरिकाको ओटीटी प्लेटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक प्रतिष्ठित ओटीटी प्लेटफर्मले रिलिजको अफर गर्नु हो । उक्त फेस्टिभलमा चारवटा फिल्मले मात्र यो अवार्ड जित्न सफल भए । विन्टर फिल्म फेस्टिभलमा यो फिल्मले ‘हरर विधा’मा हलिउड फिल्मसँग प्रतिस्पर्धा गरेको थियो ।
पृथ्वी राना मगर निर्माता रहेको चलचित्र निर्देशन भीमसेन लामाले गरेका हुन् । सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतको अभिनय छ ।








