बालबालिकाका लागि ४० लाख डोज मोडेर्ना खोप किन्ने सम्झौता

काठमाडौँ । सरकारले बालबालिका तथा किशोर किशोरीलाई लक्षित गरी कोभ्याक्ससँगको लागतमा गाभी‚ द भ्याक्सिन एलाइन्ससँग ४० लाख डोज मोडेर्नाको खोप खरिदका लागि सम्झौता गरेको छ । खोप सन् २०२२ मार्चसम्म नेपाल आइपुग्ने बताइएको छ ।
विश्व बैंकको वित्तिय सहयोगमा खरिद गर्न लागिएको मोडेर्ना खोपका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको हो ।
‘कोभ्याक्सको लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल शुरुवाती देशहरूमध्येकै एक हो‚ र चुनौतिपूर्ण परिस्थितिका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु‚’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने‚ ‘मोडेर्ना खोपले १२ वर्ष उमेरमाथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्नुका साथै कोभिडपछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रूत गति दिनसमेत सघाउने भएको छ ।’









