ओलम्पिकमा नेपाल

पदकको सपना र त्यो बिर्सनलायक दुखान्त

काठमाडौं । विश्वमा सम्मान र चर्चाको कुरा जब हुन्छ तब खेलाडीको नाम आइहाल्छ । खेलाडीले देशका लागि आफ्नो जीवन कसरी समर्पित गरेका हुन्छन् भन्ने उदाहरण नेपालमा पनि नभएका होइनन् । तर विश्वमा दुर्लभ सफलता भने सानो त्याग र समर्पणबाट सम्भव हुँदैन । बर्षौँको साधना र मेहनतले दिलाउने पदक जित्नासाथ त्यो खेलाडीको परिधिभन्दा बाहिर जान्छ र त्यसले सिंगो देशलाई नै एकतृत गर्छ र एकसाथ देशको मुहारमा खुसी ल्याउँछ ।

युद्धले पिल्सिएका देशहरु, भोकमरीले थलिएका मनहरु, आशा त्यागेका आत्मात्हरु अर्थात निरासै निरासाकाबिच खेलकुदले नसोचेका खुसीहरु संग्रहित गरिदिने गरेको छ । विश्वभर अभावबिच एकता कायम होस् भन्ने उद्धेश्यले नै अन्तराष्ट्रिय ओलम्पिक कमिटीले कुनै न कुनै रुपमा संसारभरको प्रतिनिधित्व ओलम्पिकमा गर्ने गरेको छ ।

प्रसंग नेपालको आफ्नै । ओलम्पिक सहभागिताको पाँच दशक भएर पनि अझै नेपाल पदकको छेउसम्म पुग्न सकेको छैन । (सन् १९२४ मा फ्रान्सको चामनीमा भएको गृष्मकालीन (विन्टर) ओलम्पिकमा नेपालका तेजवीर बुढालाई सगरमाथा आरोहणको सम्मानस्वरुप स्वर्ण पदक दिइएको थियो ।)

सहभागिता र ‘राष्ट्रिय कीर्तिमान भंग गर्नु’ नै ओलम्पिकको ठूलो उपलब्धिका रुपमा रहँदै आएको छ । नेपालले ओलम्पिक पदक जित्ने तयारी नगरेको भनेर आलोचना हुँदै पनि आएको छ । जुन स्वभाविक पनि हो । ‌ओलम्पिक प्रतियोगिताका बेला पदाधिकारी र अन्य नाममा लाग्ने ताँती र संलग्नहरुलाई हेर्दा नेपाल ओलम्पिकमा पदक ल्याउन होइन पहुँचवालाहरुलाई घुमाउन र भत्ता दिलाउने ध्याउन्न मै मस्त छ भन्न कुनै आइतबार कुर्न पर्दैन । अझ अचम्म त के छ भने हरेकपटकजसो सञ्चारमाध्यममा यति आलोचना हुँदा पनि र विवादित बन्दा पनि नेपाल ओलम्पिक कमिटीले यो क्रम कहिल्यै भंग गर्न आवश्यक ठानेन । अनि सरकार पनि यसबारे छानबिन होइन बरु आफ्नालाई घुसाउने कोटा सुरक्षित गर्नतिर ब्यस्त र मस्त देखिन्छ ।

अहिले चलिरहेको टोक्यो ओलम्पिकमा पदक जित्न नेपालले केही प्रयास भने गरेको थियो । तर उक्त प्रयास र आशा बिचमै निराशामा बदलियो र नेपाल पुन: ‘सहभागिताका लागि सहभागि’ बनेर उहि बिगतलाई निरन्तरता दिइरहेको छ ।

जुडोमा जोडिएको अपेक्षा
दक्षिण एसियाली खेलुकदको उपलब्धिपछि ओलम्पिक पदकसम्म उडान भर्न सक्ने खेलाडी पहिचान गरि नेपालले ‌ओलम्पिकमा पदकको सपना देख्न थालेको खेल थियो जुडो । १२ औं सागमा नेपाललाई स्वर्ण दिलाएकी फुपु ल्हामु खत्रीलाई ओलम्पिक पदक जित्ने प्रतिभाका रुपमा पहिचान गरिएको थियो । सोहीअनुसार उनलाई ओलम्पिककै लागि तयारी गर्न जापानमा आवश्यक तालिमका लागि छात्रवृत्तिको प्रबन्ध गरिएको थियो । फुपुसँग अहिले चलिरहेको टोक्यो ओलम्पिकमा पदकको आशासहित यो प्रबन्ध मिलाइएको थियो ।

तर सबै सपनाहरु कहाँ पूरा हुन्छन् र । फूपुले बिचमै तालिम छोडेपछि ओलम्पिकको सपना तत्काललाई स्थगित हुन पुगेको थियो । तर दुर्भाग्य उनले अभ्यासलाई निरन्तरता दिन सकिनन् र बिचमै अभ्यास छाडेर नेपाल फर्किइन् । उनको यो निर्णयले उनलाई प्रतिबन्धमा त पार्यो नै सँगै ओलम्पिक पदकको सपना पनि बिचैमा अलपत्र भयो ।

ओलम्पिक सोलाडिरिटीको अवसर
टोकियो ओलम्पिक-२०२० को तयारीका लागि जुडो खेलाडी फुपुल्हामु खत्री ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत २ वर्ष ३ महिनाका लागि जापानमा तयारीको अवसर पाएकी थिइन् । त्यहाँ रहँदा फुपुले टोयामोस्थित टकाउका युनिभर्सिटी अफ ल मा तयारी प्रशिक्षण र अध्ययन गर्न पाउने गरि नेपाल ओलम्पिक कमिटीको समन्वयमा नेपाल जुडो संघले ब्यवस्थापन गरेको थियो ।

ठूलो प्रतियोगिता सुरु हुन २-३ महिना बाँकी छँदा गरिने तयारीको परम्परा अन्त्यका साथै वाइल्ड कार्डमार्फत नभइ छनोटबाटै ओलम्पिक खेल्ने खेलाडीबाट मात्र पदकको आशा गर्न सकिने मान्यतामा बल पुगेको थियो । तर, उनले आफ्नो प्रतिभा र देशको आशालाई न्याय गर्न सकिनन् ।

बिचमै अभ्यास छोड्नेदेखि प्रतिबन्धसम्म
ओलम्पिक तयारीका लागि जापानमा प्रशिक्षण गर्दागर्दै उनले सम्बन्धित निकायलाई पनि खबर नगरी स्वदेश फर्किइन जसका कारण उनी जुडो संघको प्रतिबन्धमा परिन् । नेपाल ओलम्पिक कमिटिको पहलमा टोकियो ओलम्पिकको तयारी स्वरुप फुपुलाई जापानमा प्रशिक्षणको व्यवस्था मिलाईएको थियो । जापान ओलम्पिक कमिटि, नेपाल ओलम्पिक कमिटि र नेपाल जुडो संघलाई थाहा नदिइ उनी नेपाल फर्किएपछि उनीमाथि कारबाही स्वभाविक थियो । उनलाई जापान ओलम्पिकसम्मका लागि कारबाही गरिएको छ ।

प्रतिबन्धका कारण उनले आठौं राष्ट्रिय खेलकुदमा समेत सहभागिता जनाउन पाईनन् । उनी विभागीय टिम आर्मीबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी थिईन् । फुपुले जापानमा रहदाँ ८ महिना प्रशिक्षण गरिन् । उनले जापानमा बस्ने बातावरण नमिलेको र आफूलाई मानसिक तनाव भोगेको भन्दै स्पष्टिकरण दिइन् तर एउटा प्रतिभाले पाएको अवसर सदुपयोग गर्न नसक्दा उनीप्रतिको विश्वास त धुलिसात् भयो नै साथमा उनको अपरिपक्व निर्णयका कारण अन्य प्रतिभावान खेलाडीको अन्तराष्ट्रिय प्रशिक्षणको अवसरमा समेत संशय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *