सुदूरपश्चिम प्रदेशको ३३ प्रतिशत बजेट फ्रिज

खर्च सन्तोषजनक भएको दाबी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ६७.१७ बजेट मात्रै खर्च गर्न सफल भएको छ । सरकारको बाँकी झण्डै ३३ प्रतिशत फ्रिज भएको छ ।

प्रदेश सरकारले चालू र पुँजीगत गरी ३४ अर्ब ५२ करोड बजेट ल्याएको थियो । जसमध्ये ६७.१७ प्रतिशत अर्थात् २३ अर्ब १९ करोड १० लाख मात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सुदूरपश्चिम प्रदेशको १३ अर्ब भन्दा बढी बजेट फ्रिज भएको छ ।

सरकारले कुल बजेटको झण्डै ७५ प्रतिशत भन्दा बढी बजेट खर्च गर्ने अनुमान गरेको थियो । कुल बजेटको प्रदेशमा १८ अर्ब १६ करोड बजेट पुँजीगत तर्फ खर्च गर्ने उद्देश्य राखिएको भए पनि १२ अर्ब ६९ करोड मात्रै खर्च भएको छ । चालूतर्फ भने १६ अर्ब ५ करोड खर्च गर्ने योजना प्रदेश सरकारको थियो ।

आर्थिक वर्षको अन्त्यसम्म चालूतर्फको १० अर्ब ४९ करोड बजेट सकिएको छ । चालूतर्फ ६४.१५ प्रतिशत र पुँजीगततर्फ ६९.८९ प्रतिशत प्रगति भएको सुदूरपश्चिम प्रदेशको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बासुदेव जोशीले बताए । यद्यपि उनले विगतका वर्षहरूको तुलनामा यस खर्च प्रगति बढेको बताए । ‘पछिल्लो केही वर्ष यता ठूला तथा गौरवका योजनाहरूको प्रगति सन्तोषजनक भएको देखिएको छैन,’ उनले भने, ‘तरपनि बजेट खर्चको अवस्था सन्तोषजनकै नै छ ।’

कोरोनाका कारण पनि बजेट खर्च गर्न नसकिएको हुनसक्ने उनले बताए । ‘सरकारले कुल बजेटको झण्डै ७५ प्रतिशत भन्दा बढी बजेट खर्च गर्ने लक्ष्य लिएको थियो,’ उनले भने, ‘यो खर्चलाई पनि सन्तोषजनकै मान्नुपर्छ ।’ पुँजीगत बजेट बढी खर्च गर्ने प्रदेशका मन्त्रालयहरूले पनि आर्थिक वर्ष २०७७/०७८ मा ठूला योजनाको सन्तोषजनक प्रगति नभएको उनले बताए । प्रदेशको भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन तथा कृषि लगायत अन्य मन्त्रालयहरूका गौरवका योजनाहरूको खर्चको अवस्था अपेक्षाकृत रूपमा हुन सकेको छैन ।

प्रदेश गौरवका योजनाहरूको ठेक्का बहु-वर्षीय हुने गरेका कारण पनि खर्च कम देखिएको प्रदेशको भूमि, व्यवस्था सहकारी तथा कृषि मन्त्रालयका प्रवक्ता डा. हेमराज अवस्थीले बताए । उनले कोरोना महामारीलगायतका कारण पनि विकासे काममा हुने खर्चमा कमी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *