वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिले अनशन शुरु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही दिनदेखि आन्दोलनरत चिकित्सक, नर्स तथा कर्मचारीहरुले रिले अनशन शुरु गरेका छन् । उनीहरुले सोमबार बिहानदेखि रिले अनशन थालेका हुन् । १३ दिनसम्म प्रतिष्ठान र धरान नगरमा जुलस तथा विभिन्न दबाबमुलक प्रदर्शन गर्दै आएका उनीहरुले आन्दोलनलाई रिले अनसनतर्फ लगेका हुन् ।

आन्दोलनलाई बेवास्ता गरेको भन्दै आन्दोलनरत कर्मचारीले आइतबार पदाधिकारीहरूले चढ्दै आएको गाडीको चाबी खोसेका थिए । संयुक्त संघर्ष समितिका संयोजक एवम् प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा रिले अनशन शुरु भएको हो ।

अनशनमा डा. पोरखेलसहित डा. पदम नेपाली, डा. अमृत जैसी, ज्योति बोगटी, सुवास बन्जाडे बसेका छन् ।

जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले माग पूरा नभएसम्म अनशन निरन्तर रहने बताए । आन्दोलनलाई पदाधिकारीले बेवास्ता गरेपछि अनशनमा जानुपरेको उनले बताए ।

आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले प्रतिष्ठानको आर्थिक, प्रशासनिक, शैक्षिक शुद्धीकरणको माग अघि सारेका छन् । लामो समयदेखि चलेको आन्दोलनलाई उपकुलपति ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले बेवास्ता गरेको आरोप आन्दोलनकारीको छ । आन्दोलनरत चिकित्सक, नर्स र कर्मचारीहरुले उपकुलपतिको शैक्षिक योग्यता सार्वजनिक गर्न माग गर्दै उनीहरुले प्राध्यापक पदवीको प्रमाण देखाउन भनेका छन् ।

प्रतिष्ठानभित्रको बेथितिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एसएमसएस गरेर भ्रष्टाचार भएको बारेमा जानकारी दिएको भन्दै फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि आन्दोलन शुरु भएको हो । उनीहरुले स्पष्टीकरण फिर्तासहितको माग राखेकोमा अहिले उपकुलपति गिरीको योग्यता प्राध्यापकको उपाधी पनि खोजी शुरु भएको फ्याकल्टी वेलफेयर सोसाइटीका महासचिव डा.एसपी रिमालले बताए ।

प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी लामो समयदेखि काठमाडौंमा छन् । उपकुलपति र प्रतिष्ठानको संस्थागत छवि बिग्रँदै गएकाले त्यो जोगाएर राख्नका लागि उपकुलपति प्राध्यापक हुन या हैनन् भन्ने बारेमा स्पष्ट पार्नुपर्ने रिमालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =