एमालेमा सम्वाद जारी, एकता कायम रहने दाबी

काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदाको समस्या नेकपा एमालेमा अझै ज्यूँका त्यूँ छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’—माधवकुमार नेपालबीच बनेको छुट्टाछुट्टै गठबन्धनबाट प्रचण्ड अलगिँदा पनि एमाले अझै त्यही किचलोमा फसिरहेको छ । यसबीचमा पार्टीभित्रको समस्या समाधानका लागि भन्दै ओली—नेपालबीच ‘वान् टू वान्’ वार्तासमेत भयो । तर, सहमति जुरेन । पछिल्लो पटक वैशाख ३१ गते ओली—नेपालबीच भएको सम्वादपछि १० सदस्यीय एमाले कार्यदल बनेको थियो । तर, उक्त कार्यदलले खास रुपमा काम गर्न सकेन । किनकि, ओलीले लगत्तै दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरे र नेपाल ओलीको कदमविरुद्ध थिए । परिणामतः कार्यदलको राम्रोसँग बैठकसमेत बसेन । समग्रमा कार्यदललाई ओलीको प्रतिनिधि सभा भङ्गको कदमले ‘ट्वीस्ट्’ गर्यो । त्यसपछि ‘डबल’ एमालेबीच सम्वाद हुन सकेन र दुवै खेमासँगको तिक्तता कायमै रह्यो ।

तर, पछिल्लो समय उही कार्यदलल सक्रिय हुन थालेको छ । एमाले एकतालाई एक बनाउने प्रयासस्वरुप आफूहरुले सम्वाद जारी राखेको दुवै पक्षका नेताहरुले दाबी गरिरहेका छन् । ‘हामी घनीभूत छलफलमा छौँ । सम्वादलाई जारी राखेका छौँ,’ ओलीपक्षीय कार्यदलका संयोजकसमेत रहेका नेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरसँग भने— ‘जारी राखिएको सम्वाद तथा छलफलले एमाले एकतालाई कायम राख्नेछ । हामी त्यही प्रयासस्वरुप प्रयास गरिरहेका छौँ ।’

यसअघि प्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले एकतालाई कायम राख्ने भन्दै ६ बुँदे प्रस्ताव राखेका छन् । उक्त प्रस्तावमाथि छलफल गरी नेपाल पक्षले एमाले बलियो र सुदृढ भए मात्रै लोकतन्त्र र संविधानको संरक्षण हुने निष्कर्ष निकाल्दै आफूहरु पनि एकता कायम राख्नको लागि नै प्रयासरत रहेको बताएको थियो । जसको लागि नेपाल पक्षले केही सर्तसमेत राखेको थियो । ०७५ जेठ ३ गतेपूर्वको पार्टी संरचना आफ्नो ‘बटमलाइन्’ बनाएको नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने निर्णय फिर्ता लिनुपर्नेलगायतका सर्त थप गरेको छ । नेता घनश्याम भुसालले मकालु खबरसँग भनेका छन्— ‘छलफलकै चरणमा छौँ । छलफललाई सकारात्मकतातिर लानको लागि पनि प्रयास गर्दैछौँ । एकतालाई कायम नै राख्नेगरी सम्वादहरुलाई जारी राखेका छौँ ।’

नेता योगेशकुमार भट्टराईले भने आफू सधैं एकताको पक्षमा उभिएको बताउँदै आएका छन् । उनले एमाले एक हुन नसक्नुको कारण नेताहरु नै रहेको निष्कर्ष निकालेका छन् । यता एमाले एकता महाअभियानसमेत चलाएका नेता वामदेव गौतमले पनि ०७५ जेठ ३ पूर्वको स्थायी कमिटी बोलाउन आह्वान गरेका छन् ।

अहिले एकता कायम राख्नेगरी ओली खेमाबाट नेम्वाङ्ग, प्रदीपकुमार ज्ञवालीलगायतका नेताहरु सक्रिय छन् भने नेपाल खेमाबाट भीम आचार्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका नेताहरु छन् । यसअघि नेताहरुबीच मंगलबार पन छलफल भएको थियो । जहाँ नेताहरुले सम्वादलाई जारी राख्नुपर्ने निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *