पार्टीसम्बन्धी सबै निर्णय गर्ने अधिकार ओलीलाई

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई दिने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

उनका अनुसार बैठकले नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । उनले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दै एकताको रक्षाका लागि विगतका सबै तीता कुरा बिर्सिएर अगाडि बढ्ने जनाउँदै सो प्रयोजनका लागि पार्टी नेताहरुको कारवाही फुकुवा गरिएको बताए ।

पार्टी एकताको बृहत्तर हितलाई ध्यानमा राखेर आवश्यक कदम चालिने र असन्तुष्ट पक्षसँंग वार्ता गरिने जानकारी उनले दिए । उनले भने, ‘आफ्नै नेतृत्वको सरकार ढालेर विपक्षको सरकार बनाउनका निम्ति कारक नबन्न सबैलाई आह्वान गरिएको छ ।’

स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले मकालु खबरसँग भने‚ ‘बैठकले पार्टीका सम्पूर्ण अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय गरेको हो । यसो गर्दा पार्टीभित्र देखिएका समस्याहरुलाई समाधान गर्न सहज हुने भयो ।’

यसैगरी बैठकले पार्टी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोभिड– १९ को सङ्क्रमणका कारण भएको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रवक्ता ज्ञवालीले उनको निधनबाट पार्टीले एक असल नेता र दोलखालीले अब्बल जनप्रतिनिधि गुमाएको बताए । बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै चौलागाईंको सम्मानमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाइने निर्णय गरेको छ ।

यसैगरी बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीको पछिल्लो जटिलावस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमका सम्बन्धमा जानकारी दिएका थिए । बैठकले अक्सिजनको पर्याप्तता, प्रभावकारिता र नियमित आपूर्ति, खोपलगायत जीवनरक्षक औषधिको प्रबन्ध, अस्पतालको पूर्वाधार विस्तारलगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न र मित्र राष्ट्रबाट आवश्यक सहायता जुटाउनका लागि थप कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको प्रवक्ता ज्ञवालीले  बताए ।

बैठकले कोभिड महामारीको अझ तयारी गर्न र अक्सिजनलगायत आवश्यक सामग्री आपूर्ति गर्नका लागि राज्यका सबै संयन्त्र प्रयोग गर्न सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया