अघिअघि अनु पछिपछि अवसर…

काठमाडौं । ‘मेरो आइडल फुटबलर अनु दिदी हो, उहाँसँगै खेल्न पाउँदा छुट्टै ऊर्जा मिल्यो, त्यसैले त सर्वोत्कृष्ट खेलाडी भएँ ।’ राष्ट्रिय महिला लिग फुटबलकी उत्कृष्ट खेलाडी घोषित सरु लिम्बुको प्रतिक्रिया हो यो ।
अनुको कप्तानीमा रहेको सशस्त्र प्रहरी बल एपिएफ क्लब नेपाल च्याम्पियन हो । अनुको टिमका खेलाडीहरू उनको उपस्थिति र कप्तानीले सहकर्मी खेलाडीलाई बेग्लै ऊर्जा र प्रेरणा मिल्ने गरेको बताउँछन् ।
हुन पनि अनुको अनुभव खेलाडीका लागि सिक्ने मौका र उनको संघर्ष नयाँ पिँडीका लागि प्रेरणाको स्रोत बनिआएको छ । त्यसैले त सरु र सरुजस्ता धेरै फुटबल खेलाडीहरुका लागि अनु ‘रोलमोडल’ हुन् । अनु अर्थात् अनु लामा, जसले नेपालको राष्ट्रिय जर्सीमा ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् ।
अनुलाई आदर्श मान्दै खेल्न थालेका धेरै खेलाडी अहिले राष्ट्रिय टिमसम्म पुगेका छन् भने अझै धेरै ‘अनु’हरू फुटबलमा प्रदेश गर्दैछन् ।
३३ वर्षीया अनुलाई उमेर ‘जस्ट अ नम्बर’ अर्थात् ‘केवल अंक’ मात्र लाग्छ । त्यसैले त उनलाई घरेलु लिग अझै खेल्छु भन्ने हिम्मत छ । ‘अझै २–३ वर्ष त घरेलु लिग खेल्छु भन्ने विश्वास छ’, अनुले सुनाइन्, ‘फुटबलको माया लाग्छ, छोड्नै सक्दिनँ ।’
अनु सशस्त्र प्रहरी पनि हुन् । उनको पेन्सन पाक्न अब ४–५ वर्षमात्र बाँकी छ । अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट भने सन् २०१८ मै बिट मारेकी हुन् अनुले ।
हुन पनि अनुको अनुभव खेलाडीका लागि सिक्ने मौका र उनको संघर्ष नयाँ पिँडीका लागि प्रेरणाको स्रोत बनिआएको छ । त्यसैले त सरु र सरुजस्ता धेरै फुटबल खेलाडीहरुका लागि अनु ‘रोलमोडल’ हुन् ।
अनु युग
अनु नेपाली फुटबलकी एक ‘योद्धा’ हुन् । आफूभन्दा पहिले राष्ट्रिय टिममा जमुना गुरुङसँग मिलेर डेब्यु गरेकी अनुले राष्ट्रियस्तरमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरको फुटबलमा पनि तहल्का मच्चाएकी थिइन् । त्यसै ३५ अन्तर्राष्ट्रिय गोल कहाँ सम्भव हुन्छ र ?
सन् २०१० मा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपटक महिला फुटबल समावेश भएको हो । त्यहि वर्ष घोषणा भएको साफ महिला च्याम्पियनसिपले नेपालमा मात्रै नभएर दक्षिण एसियामै महिला फुटबलले माहोल बनाएको हो ।
अनुले त्यहि अर्थात् ११ औं दक्षिण एशियाली खेलकुदबाट राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । हो, त्यहिँबाट शुरु भएको हो, अनु युग । अनुले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता अर्थात् डेब्यु प्रतियोगितामै ५ गोल गरिन् । त्यहि वर्ष बंगलादेशमा भएको साफ च्याम्पियनसिपको पहिलो संस्करणमा उनले नेपालको तर्फबाट ११ गोल गरिन् ।
त्यस्तै, श्रीलंकामा भएको दोस्रो र पाकिस्तानमा भएको तेस्रो संस्करणको साफ च्याम्पियनसिपमा उनले ५–५ गोल गरिन् । कुवेतसँगका दुई मैत्रीपूर्ण खेलमा ६ र कतारविरुद्धको मैत्रीपूर्ण खेलमा एक गोल गरेकी अनु त्यसबेला नेपालकी सर्वाधिक गोलकर्ता बनिन् ।
अहिले उनको सर्वाधिक गोलको रेकर्ड सावित्रा भण्डारीले तोडेकी छिन् । ३५ अन्तर्राष्ट्रिय गोल गरेर सर्वाधिक गोलकर्ताको किर्तीमान बनाएकी अनुको नाममा अझै अन्तर्राष्ट्रिय गोल थपिने सम्भावना थियो । तर, सन् २०१४ को तेस्रो साफ च्याम्पियनसिपपछि चोटले सताएपछि उनले अझै गोल थप्ने सपना त्याग्नुपरेको हो । चोटका कारण दायाँ घुँडाको शल्यक्रियापछि उनी लामो समय मैदान बाहिर रहन बाध्य भइन् ।
नेपाली महिला फुटबल टिमका लागि भारत दक्षिण एसियाको सबैभन्दा ठूलो तगारो बन्दै आएको छ । अरु सबै टिमलाई हराउँदै फाइनल पुगेपनि नेपाली टिमले फाइनलमा भारतको तगारो तोड्न सकेको छैन ।
तर, २०१८ मा भएको हिरो गोल्डकपमा भने नेपालले भारतलाई पहिलोपटक पराजित गर्न सफल भयो । जतिबेला नेपाली टिममा अनु पनि परेकी थिइन् । तर उनले खेल्ने मौका भने पाइनन् । चोटका कारण लामो समय मैदान बाहिरै रहहेकी उनको पुनरागमन बेञ्चमै सीमित बन्यो ।
कडा परिश्रमपछि विराटनगरमा भएको साफ च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय खेल जीवनबाट बिदा लिने उनको एउटै लक्ष्य थियो, तर अफसोस, त्यो पूरा भएन । यो कुराले भने उनलाई अझै पनि नरमाइलो गरी चिमोटिइरहन्छ । ‘सोचेजस्तो नहुँदा दुःख त लागिहाल्छ नि’, मकालु खबरसँग अनुले भनिन् ‘यो चाहिँ मेरो मनमा सँधै खट्किरहने कुरा हो ।’
फर्केर हेर्दा..
नेपाली महिला फुटबल उत्पादनमा रौतहट अग्रणी जिल्ला हो । यसमा धेरथोर भूमिका अनुको पनि छ । राष्ट्रिय टिमका नियमित सदस्य मञ्जलीकुमारी योञ्जन, अनिता केसी, अञ्जना रानामगर, पुनम जर्घामगर रौतटहका हुन् । यस्तै निशा थोकर, रविना गोलेलगायत धेरै खेलाडी अनुकै पथमा देखिन्छन् । अनुकै सिको गर्दै उनी जस्तै बन्ने सपना बुनेका खेलाडी रौतहटमा मात्र होइन अरु ठाउँमा पनि छन् । गृह जिल्ला हुनुका नाताले रौतहटमा बढी छन् ।
अनु मकवानपुरमा जन्मिएपनि ३–४ वर्षको हुँदै बुबाआमासँगै मावली सिन्धुली पुगिन् । उनी सिन्धुलीमा बसिन् तर उनका बाबुआमा भने व्यवसायकै सिलसिलामा रौतहट गए । होटल व्यवसाय राम्रो भएपछि रौतहटमै घर बन्यो । अनु पनि करिब ६–७ वर्षकी भएपछि बुबाआमासँग रौतहट नै गइन् ।
आफूले सिन्धुलीमै फुटबल खेल्न थालिसकेको अनु बताउँछिन् । कहिले बारीको पाटामा त कहिले खोलाको किनारमा, प्लास्टिकको बल बनाएर खेलेको उनले कहाँ भुल्न सक्थिन् र ? ‘सिन्धुलीमा हुँदा दाइहरू अलिअलि फुटबल खेल्नुहुन्थ्यो । म पनि दाइहरूसँग खेल्थे । प्लास्टिकको बल बनाएर हामी खेल्थ्यौं । दशैंतिर चाहिँ म केटाहरुको टिममा किपर बनेर खेलेको थिए,’ अनुले सुनाइन् ।
फर्केर हेर्दा अनुलाई आफ्नो बाल्यकाल निकै रमाइलो लाग्छ अनि आफूलाई साहसिक छोरीका रुपमा पाउँछिन् उनी । रौतहट झरेपछि पनि अनुले उनका दाइहरूसँग फुटबल खेल्न छाडिनन् । फुटबल खेल्ने नै भन्ने त उनको लक्ष्य नै त बनिसकेको थिएन ।
तर, फुर्सदको समयमा रमाइलोका लागि खेल्दाखेल्दै उनको फुटबलसँग यस्तो साइनो गाँसियो कि फुटबलबिना उनको नाम नै अधुरोजस्तो अपुरो जस्तो भइदियो । उसो त, अनुबिनाको नेपाली महिला फुटबलका पनि खल्लो खल्लो हुन्छ, रिक्त हुन्छ । शायद, उनको स्थान कसैले पूरा गर्न सक्दैन ।
अनुसहित लक्ष्मीकुमारी पौडेल, तेजकुमारी गुरुङ र सोभा कुस्वार चारै खेलाडी रौतहटका हुन् । लक्ष्मी अहिले अमेरिकामा छिन् । सानोमा फुटबल खेल्दाको क्षण सम्झिदै भन्छिन्, ‘लक्ष्मी र ममात्रै केटाहरुको टिमबाट खेल्थ्यौं । उनी बजारको केटाहरुको टिमबाट खेल्थिन् । म चाहिँ भाइहरू, साथीहरुको टिम बनाएर खेल्थें ।’
गाँउमै बामगती युवा क्लबमा ट्रेनिङ भइरहन्थ्यो । त्यो बेला अनु सात कक्षामा पढ्थिन् । फुटबल सिक्ने इच्छा भएपछि अनु विद्यालयका साथीहरु लिएर क्लबमा पुगिन् । ६, ७, ८ र ९ कक्षाका केटीहरु बटुलेर उनी फुटबल सिक्न क्लबमा गइन् । तर भनेजस्तो भएन । ‘शेरबहादुर गुरुले कम्तिमा एउटा टिम पूरा भए मात्र सिकाउन सक्ने भन्नुभयो हामी जम्मा ९ जना मात्रै थियौं ।’ अनु २०६० सालको त्यो क्षण सम्झिन्छिन् ।
तत्काललाई योजना असफल भएपनि २०६० सालकै साउनमा विद्यालय एक महिनाका लागि छुट्टी भयो । त्यो बेला उनले फुटबल सिक्ने आफूजस्ता २० जना साथी भेला पारेकी थिइन् । अनि शुरु भयो उनको फुटबल ट्रेनिङ । खेल्दाखेल्दै, सिक्दासिक्दै उनको खेल निखारिँदै गयो ।
विद्यालयस्तर हुँदै जिल्लास्तरका खेलहरु खेल्दै अनु १९ वर्षमुनिको राष्ट्रिय टिममा परिन् । सन् २००४ मा यु–१९ टिमबाट चीन गइन् । २०६३ सालमा अनु एपिएफ क्लबमा आबद्ध भइन् । अनुलगायत अन्य खेलाडीलाई समेट्दै पहिलोपटक एपिएफले महिला टिम बनाएको थियो ।
अहिले अनु यहि एपीएफ क्लबको कप्तान छन् । भर्खरै अनुको कप्तानीमा एपीएफले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको हो ।








