‘नाट्यश्वर म्युजिक अवार्ड’ सम्पन्न

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका संगीतकर्मीहरुलाई नुवाकोटको विदुरमा आयोजित एक समारोहमा नाट्यश्वर म्युजिक अवार्ड प्रदान गरिएको छ । आइतबार आयोजित दोस्रो संस्करणको नाट्यश्वर म्युजिक अवार्ड ‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न भएको हो ।

समारोहमा संगीतकार राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आयोजकका तर्फबाट संगीतकार सिंहलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । आधुनिक, पप, लोक दोहोरी तथा मेन्दोमाया लगायत मूल विधालाई आधार बनाएर अवार्ड वितरण गरिएको थियो ।

कार्यक्रमका संयोजक किरण अधिकारीका अनुसार गायन तथा संगीत क्षेत्रका विविध ४८ विधामा ६० जना कलाकारलाई अवार्ड वितरण गरिएको हो । समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भाव शब्दतर्फ सुन्दर पन्त र जुरी अवार्ड रमेश दाहाल, म्यूजिक भिडियो निर्देशक राजीव बलामी, नवज मोडल सरिता कुँवर, पब्लिक च्वाइसतर्फ चन्द्रलाल तामाङ उत्कृष्ट भए । लोकदोहोरीतर्फ विष्णु खत्री, सविता परियार, जमुना राना, रमिला न्यौपाने, कृष्ण रेउले लगायतले अवार्ड जिते ।

कला तथा रंग पत्रकारितामार्फत कला, संस्कृति तथा संरक्षणमा कलम चलाएको जनाउँदै आयोजकले विभिन्न सञ्चारमाध्यममा कार्यरत पाँच जना पत्रकारहरु देवचन्द्र भट्ट, दिपज्योति थापा, नेमिष गौतम, बाबुराम सिग्देल र राममणि ढकाललाई सम्मान गरेको छ ।

प्रतिक्रिया