‘स्मृतिमा प्रेमनारायण प्रेमी’ विमोचन

काठमाडौं । ‘स्मृतिमा प्रेमनारायण प्रेमी’ स्मृति ग्रन्थ-२०७७ पुस्तक विमोचन भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम बिच पुर्व शिक्षामन्त्री समेत रहेका वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पुस्तक विमोचन गरेका हुन् ।
६७२ पृष्ठको पुस्तकमा ओखलढुगांका पुराना कम्युनिष्ट नेता प्रेम नारायण प्रेमीका योगदान उल्लेख छन्। उनी पत्रकारितामा समेत सक्रिय थिए । पुस्तकमा प्रेमीलाई चिन्ने व्यक्तिहरुको लेख तथा कविताहरू संकलित छन् ।
वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले प्रेम नारायण प्रेमीको योगदानको चर्चा गरे । उनले प्रेमीको योगदानबारे लेखिएका लेखहरूको प्रशंसा गरे । जीवनका सबै पक्षलाई रेकर्ड राख्ने गरी लेखिएको बताए ।
प्राध्यापक तथा वरिष्ठ समालोचक राजेन्द्र सुवेदीले पुस्तकले प्रेमनारायण प्रेमीको योगदानका अलावा इतिहासको विषयवस्तु समेत समावेश गरेको बताए । प्रेमीमा केन्द्रित रही फरक लेखकहरुबाट विश्लेषणहरु भएको बताए । कविताहरू पनि पुस्तकमा हुनु सकारात्मक पक्ष रहेको उनको भनाई थियो ।
नेकपा नेता पेशल खतिवडाको कार्यक्रममा नेकपाका नेताहरु नानीबाबु बुढाथोकी, बाबुराम गौतम, पत्रकार चेतनाथ धमला, प्रेमीकी छोरी सम्झना प्रेमी लगायतले बोलका थिए ।
वि.स १९९७ मंसिर ९ गते बुवा गणेशमान कटवाल र आमा कृष्णकुमारी कटवालको कोखबाट कुडुले ओखलढुंगामा जन्मेका प्रेमीको २०७५ मंसिर ७ गते निधन भएको थियो । उनका चार छोरी र एक छोरा छन् । वास्तविक नाम प्रेमबहादुर कटवाल भएपनि उनी पछि प्रेम नारायण प्रेमीको नामले चिनिएका थिए ।
कटवालले त्रिचन्द्र कलेजबाट २०१३ सालमा आइ एस्सी सम्मको अध्ययन गरेका थिए । उनले सिभिल इन्जिनियर (डिप) र बिएचएम (होमियोप्याथिक) (२०१५–२०२०) मा भारतमा गरेका थिए ।
प्रेमनारायण प्रेमीद्वारा रचित रगत पसिना र आँसु नाटकसंग्रह, नओथारिएका चल्लाहरू कविता संग्रह तथा प्रेमीको जीवनयात्रा बजारमा आइसकेका छन् । आज विमोचन भएको पुस्तकमा १८६ वटा लेख समेटिएका छन् ।
उक्त पुस्तक नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जिल्ला संगठन कमिटी ओखलढुंगाले प्रेमनारायण प्रेमी स्मृति ग्रन्थ प्रकाशन समितिले प्रकाशन गरेको हो । पुस्तकलाई पेशल खतिवडा, बाबुराम गौतम, नेत्रप्रसाद भट्टराई र केदार सापकोटाले सम्पादन गरेका छन् । कार्यकारी सम्पादकमा चेतनाथ धमला रहेका छन् ।








