महसुस हुने माया

काठमाडाैँ । मायाकाे हिसाब कसरी गर्न सकिन्छ र ? अनि  मायाकाे बयान गर्न पनि त सजिलाे कहाँ छ र ?  प्रेमका पूजारीहरु मायाकाे कुनै लेखाजाेखा र हरहिसाबै नहुने बताउँछन् । माया असिमित र अपरिमित हुन्छ भन्छन् । त्यसाे भए माया महसुस गरिने कुरा हाे त ?

हाे माया ठ्याक्कै यस्तै अर्थात महसुस गरिने नै कुरा हाे भन्छन सर्जक एकनारायण भण्डारी । उनकाे पछिल्लाे गीत ‘महसुस‘  मा उनले यस्तै आग्रह गरिएकाे छ-

संसारैका शब्दले पुग्दैन मेराे माया भन्न

संसारैका अँकले पुग्दैन मेराे माया गन्न……

माया छ देखाउन सकिन महसुस गर

माया म बताउन जानिन महसुस गर…..

प्रमोद खरेलको आवाज रहेको गीतमा आशिष अविरलकाे सङ्गीत छ ।

दुई बर्ष अघि नै रेकर्ड भएकाे याे गीतकाे म्यूजिक भिडियाे बनाउन समय लागेकाले बल्ल सार्बजनिक गरेकाे उनले मकालु खबरलाई बताए ।

एकनारायण अलि बेग्लै र ठेट शब्द राखेर गीत तयार पार्ने सर्जकका रुपमा चिनिन्छन् । माया महसुस गराउने तरिका पनि बढाे लाेभलाग्दाे गरि सिकाएका छन् एकनारायणले । गीतले भन्छ-

आँखा चिम्म गर,  मेराे माया हेर,

तिमी कानै र थुन, मेराे माया सुन,

अनुहारै पढ, मनकाे भाषा बुझ

मेराे माैनतामा डुब, शब्दमा के छ र ?

माया छ देखाउन सकिन महसुस गर

माया म बताउन जानिन महसुस गर……

दीपक आचार्य निर्देशित गीतकाे भिडियोले भण्डारीको शब्दलाई न्याय गरेको छ । चलचित्र बुलबुल तथा तीन पाते गीत मार्फत चर्चित मुकुन भुसाललाई अभिनयमा गरिमा शर्माले साथ दिएकी छन् । भिडियो छायाङ्कन भने अजय रेग्मीले गरेका हुन् । कथानक र कलाकारकाे अभिनयका हिसाबले म्युजिक भिडियाेले पनि गीतलाई न्याय गरेकाे छ ।

प्रतिक्रिया