म र मेरो पार्टी !

  • सन्तोष भट्टराई

म २७ सालमा जन्मिएको मान्छे रे, आमा बुवाले भन्नुभएको । आमाले नै बुवा चिनाउनुभएको । म हिन्दु रे, परिवारले नै सिकाएको । मैले ति सबै कुराहरूलाई मानेँ र पत्याएँ । अनि आत्मसागथ गरेँ । आमाबाट पाएको माया, बुवाबाट पाएको मार्गदर्शन र परिवारबाट सिकेको संस्कारले पनि त्यहीँ कुरा प्रमाणित गर्थ्यो । यस कुराको साक्षी प्रमाण कहिल्यै खोजिन र उहाँहरुले पनि यसको खोजी गर्नुपर्ने कारण नै दिनुभएन ।

जीवनको लामो यात्रामा कति उकाली त कति ओराली होलान् । तर पनि विचलित नभइ हाम्रोसमेत भार उठाउनुभयो । कहिलेकाहीँ एक आपसमै पनि गुनासाहरू रहे होलान् । तरै पनि सन्तानको माया र भविष्य हेरेर संयमित हुँदै आफ्नो अभिभावकीय दायित्व पूर्णरूपमा निर्वाह गर्नुभयो । चाहेको भए एउटाले एकातिर अर्काले अर्कोतिर काखी च्यापी सबै छोडेर हिँड्न उहाँहरुलाई केले नै पो रोकेको थियो र ?

आमा बुवाकै मार्गदर्शन, शिक्षादिक्षा अनि तिनै पारिवारिक तथा सामाजिक सेरोफेरोमा मेरो जीवन यात्रा शुरू भयो । उहाँहरुले देखाएको बाटो र व्यक्तित्व हाम्रो आदर्श थियो । उमेर बढेसँगै स्कूल जान थालियो, साथीभाइहरु बन्दै गए । नयाँ परिवेश देख्न चिन्न थालियो । लाज, शरम, डर, हिम्मत, कौतुहलता आदि बुझ्दै गइयो । सामाजिकसँगै राजनैतिक विषयवस्तुहरूले छुँदै गयो । ७ कक्षामा पढ्दै गर्दा,  जुल्फीकर अलि भुट्टोलाई फाँसी दिइसकेपछि उत्पन्न राजनैतिक परिवेशमा आयोजित विद्यार्थी जुलुशमा पहिलोपटक सहभागी भएँ ।

८ कक्षा पढ्दै गर्दा म माविकै विद्यार्थी संगठनको नेतृत्व गर्ने ठाउँमा पुगिसकेको थिएँ । मेरो पहिलो प्रक्राउ पूर्जि, तत्कालीन पंचायती प्रहरी प्रशासनले त्यतिबेला नै जारी गरिसकेको थियो । कतिपटक म बसेको गाउँ नै घेरियो । अर्थात् ७ कक्षा देखिनै म विद्यार्थीको गतिविधिमार्फत् सक्रिय जनवादी राजनीतिमा होमिएको थिएँ ।

मलाई आज ति दिन सम्झँदा अचम्म लाग्छ । मैले त्यसबेला कति राजनीति बुझेको थिएँ । त्यसबेला देखेका ५ टाउकाहरूको महत्व के थियो, त्यसका निम्ति कति मूल्य चुकाउन म तयार थिएँ, त्यतिबेला अभिव्यक्त हुने भाषामा प्रायःजसो प्रयोग हुने वादहरू (अधिनायकवाद, विस्तारवाद, साम्राज्यवाद, पूँजीवाद, समाजवाद, साम्यवाद, उपनिवेशवाद, अर्धउपनिवेशवाद, अवसरवाद, सामन्तवाद आदि आदि) कति बुझेको थिएँ । तरैपनि एउटा अचम्मको हिम्मत थियो, केही गर्नुपर्छ र म गर्छु पनि भन्ने दृढ विश्वास थियो । एउटा सामाजिक, भावनात्मक सोच थियो, जसले मलाई अझ यसै मार्गमा हिँड्नुपर्छ भनेर अभिप्रेरित गर्यो ।

कार्यकर्ता चाहिएर हो वा यसले यो समाजवादी आन्दोलनमा केही योगदान गर्न सक्छ भन्ने मूल्याङ्कनको आधारमा मेरो भावनाको कदर गर्दै मलगायत थुप्रै साथीलाई याे मार्गमा हिँड्न अभिप्रेरित गरियो, प्रशिक्षित गरियो । किन मैले स्वीकारेँ थाहा छैन । तर म त्यसबेला सर्वहारा वर्गको नेतृत्वमा मजदूर, किसान वर्ग र गरिबी उन्मूक्त सामाजिक न्याय संहिताको स्वतन्त्र समाज निर्माण गर्ने बाटो र विचार यही हो, भनेर आकर्षित भएको थिएँ । यो मेरो बुझाइ बौद्धिक वा दार्शनिक नभइ नितान्तः भावनात्मक थियो ।

समय बित्दै गयो । केही सिला जम्मा गरेर, केही ढुकुटीको धान चोरेर बिक्री गरेको पैसाले, त्यसबेला उपलब्ध केही रुसी र केही चिनियाँ पुस्तकहरू किनेर पढियो । केही हामीलाई पढाइयो । तिनै सीमित ज्ञान र सुनौलो संसारको कल्पनासँगै जनवादी राजनीतिमा लागिरहियो ।

२०४१/४२ सालमा इटहरी इलाका कमिटी र ०४२/०४३ सालमा धरान नगर कमिटीमा रहेर काम गर्दै शुरू भएको पार्टी जीवन आजको दिनसम्म आइपुग्दा मैले राजनीति कति जानेँ, कति बुझेँ थाहा छैन । तर एउटा निष्कर्ष भने निकालेको छु । राजनीतिमा आदर्श हुनुपर्दछ र आदर्शवादी राजनीतिले मात्र समाज परिवर्तन गर्न सक्दछ । जसको खोजिमा म आज पनि छु ।

मलाई त्यसवेला राजनीतिमा लाग्न अभिप्रेरित गर्ने, संगठित गर्ने, प्रशिक्षित गर्ने कोइराला मामा, न्यौपाने सर, कार्की दाइ, एकजना कमरेड (नाम बिर्सिएँ तर, तस्वीर भने अझै आँखैमा झलझली छ, जाे धरान तत्कालीन ४ नंं वडाअन्तर्गत बोर्डिङ्ग स्कूलदेखी तलतिर खहरे खोलाको छेउमा भएको एक्लो काठको घरमा विद्यार्थीको रूपमा भाडामा बस्नुहुन्थ्यो) उहाँहरुलाई आज सम्झन चाहान्छु । जसलाई आदर्श मानेर म अघि बढेँ ।

मेरो राजनैतिक जीवनमा सबैभन्दा बढी भूमिका खेल्ने आदर्शवादी व्यक्तित्वलाई मैले विसं ०४५ सालपछि एकैचोटी आठौं महाअधिवेशनको वेला बुटवलमा भेट्ने मौका पाएँ । भेटेर खुशी लाग्यो । विचरा ! आदर्श र अनुशासनको नाममा बुर्जूवा भनिने सबै चिजहरूलाई प्रतिकार गर्दा चुँडिएको चप्पललाई आगोले जोड़ेर लगाई आजको दिन इटहरीमा घुमिरहनु भएको छ । म त्यसवेला आजका ठूला वा मझौला कुनै पनि नेतालाई चिन्दिनँ थिएँ । भूमिगतकालका हाम्रा ठूला नेता उहाँहरु नै हुनुहुन्थ्यो । उहाँहरुकै निर्देशन र नेतृत्वमा हामी हिँड्यौ । आजको समाज, राजनैतिक परिवेश अनि आफ्नो र परिवारको अवस्था देख्दा उहाँहरुलाई के लाग्छ ? मलाई त देखेर साह्रै दुःख लाग्छ ।

राजनैतिक पार्टी संगठनमा लागेका प्रत्येक सदस्यको उद्धेश्य आफ्नो योग्यता र क्षमताले भ्याएसम्म पार्टीको नीति र सिद्धान्तको प्रतिनिधित्व गर्ने, तदानुरुप पार्टीको नेतृत्व गर्ने र पार्टीमार्फत् सरकार हुँदै देशको नेतृत्व गर्ने र समाजको सकारात्मक रूपान्तरणमा योगदान गर्ने रहेको हुन्छ र हुनु पनि पर्दछ । यसको अर्थ पार्टीका सबै सदस्यले समान अवसर प्राप्त गर्नुपर्दछ । साथै राष्ट्रिय स्वार्थ पार्टीगत र वयक्तिगत स्वार्थभन्दा माथि हुनुपर्दछ । बुटवल महाअधिवेशनमा अध्यक्षमा पराजित केपी ओली नवौं महाअधिवेशनमा अध्यक्ष चिर्वाचित हुनुको कारण पनि यही थियो ।

सिङ्गो जीवन देश र जनताको लागी भनेर ज्यान दाउमा राखेर हिँडेको, युवा अवस्थाको १४/१४ बर्ष जेलमा बिताएको, सिद्धान्त र शास्त्र पिएको, अन्य नेताहरू सँगसँगै पार्टीमा काम गरेको, जसले पार्टी र सरकार चलाउने हैसियत राख्छ अनि प्रतिद्वन्द्वीलाई टक्कर दिनसक्छ, उसैले पार्टीको नेतृत्व गर्न पाउनुपर्छ भनेर थुप्रै प्रतिनिधिले विवेक प्रयोग गरेका थिए । म प्रवासी नेपाली मञ्चको प्रतिनिधि काे हैसियतले सहभागी थिएँ । मेरो मुख्य एजेण्डा प्रवासी नेपाली मञ्चलाई पार्टी कमिटीको हैसियत दिलाउने, पार्टी विधानमा समेटाउने र प्रतिवेदनमा लेखाउने थियो । जसमा हामी केही हदसम्म सफल नै भयौँ ।

जब दुई पार्टी एमाले र माओवादीको एकीकरण भयो, तब अन्तरपार्टी निर्देशनमार्फत् प्रवासी नेपाली गतिविधिलाई जनवर्गीय संगठनको हैसियतमा खुम्च्याउने काम त भयो नै । ३०औं बर्षदेखिका संगठित सदस्यलाई गैर नेपाली भन्ने आधारमा संगठित सदस्य रहने आधारसमेत खोसियो । अहिले त्यतातिर जान चाहन्नँ ।

आफ्ना विचार, मान्यता र योजनालाई पार्टीभित्र स्थापित गर्न समान सोच भएका साथीहरुको समूहको आवश्यकता पर्दछ । जुन वैचारिक हुन्छ, सैद्धान्तिक हुन्छ, जसलाई हामी कहिलेकाहीँ गुटको संज्ञा दिन्छौँ । यस्तो गुट विषयगत र आवधिक हुनुपर्दछ । जसलाई अन्यथा मान्नु हुँदैन । आफ्नो विचार स्थापित भइसकेपछि गुट रहँदैन र सिङ्गो पार्टीको नेतृत्व गर्नुपर्दछ । राजनीति राज्यसत्ता प्राप्त गर्नका निम्ति गरिन्छ । लोकतान्त्रिक पद्धतिमा निर्वाचनमार्फत् सरकारमा गएर आफ्ना घोषणापत्र अनुरूप काम गरेपनि सिङ्गो देशको नेतृत्व गर्नु पर्दछ । यति बेला राष्ट्रियस्वार्थ पार्टीगत स्वार्थभन्दा माथि रहनुपर्दछ । विडम्बना ! हामीकहाँ कहिल्यै पनि राष्ट्रिय स्वार्थ माथि हुन सकेन । अध्यक्ष पार्टीको हुन सकेनन् गुटको मात्र भए अनि कार्यकर्ता पनि पार्टीको हुन सकेनन् कुनै नेताको मात्र हुन पुगे ।

पूर्खाहरूले आनामाना घ्यू खाएका थिए भनेर इतिहास बेचेर खाने दिनहरू अब सकिए । अहिले आफूले खाएको नुन र क्षमताको मूल्याङ्कन आजै हुन्छ र त्यसैअनुरूप मूल्य चूकाउनुपर्छ।

हिजो दुई महत्वपूर्ण ठूला राजनैतिक पार्टीहरू एक हुँदाको उत्साह र सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन । यो एकता ऐतिहासिक छ, यूगान्तकारी छ, रणनीतिक छ, यसले  कम्युनिष्ट आन्दोलनमा नयाँ इतिहास रच्नेछ र यो सिङ्गो कम्युनिष्ट आन्दोलनको लागि एउटा प्रेरणाको स्रोत हुनेछ भनेर सम्पूर्ण पार्टी पंक्ति र सदस्यले आँखा चिम्लेर दुई अध्यक्षलाई स्विकारी  एकता प्रकिया जिम्मा लगाएकै हो । त्यसै आधारमा नेपाली जनताले पनि झण्डै दुईतिहाइ बहुमतका साथ सरकारमा पठाएकै हो। मिलेर निर्णय गर्नुहोस हामी मान्न तयार छौ, भनेर कार्यकर्ताले बार–बार भनेकै हो र देशले तपाईँहरुबाट दीर्घकालीन स्थायित्वसहितको विकास र समृद्धि खोजेकै हो । यस्तो महत्वपूर्ण र गहन जिम्मेवारीलाई नजरअन्दाज गर्दै आवेग वा प्रतिशोधका कारण पटकपटक टुक्रिनेसम्मको परिस्थितिमा पुग्ने र पुर्याउने काम तपाईँहरूबाट भइ नै रह्यो ।

देश र जनताको मुक्तिका लागि विचार र सिद्धान्तको लडाइँमा झापा आन्दोलनदेखि १४ बर्ष जेल जीवन बिताइ पटकपटक मृत्युको मूखबाट फर्किएको योद्धालाई प्रजातान्त्रिक मुल्य र मान्यता अनि राष्ट्रिय हितका लागि कुनै पद छोड्नु परे ठूलो कुरा हुन्छ र ? त्यस्तै १० बर्षे जनयूद्ध गरेर टाउकोको मुल्य बोकेर हिँडेको लडाकू नेता, जसमाथि सिङ्गो देशले युगान्तकारी परिवर्तनको आशा पालेको थियो । उसका लागि पद, पार्टी र देशभन्दा के ठूलो हुनसक्छ र ? यसको जवाफ उहाँहरुले नै दिनुपर्छ । दुई अध्यक्षबीचको असमझदारीको प्रभाव र त्यसले पार्ने असर कार्यकर्ता, पार्टी र देशले ब्यहोर्न सक्दैन र मिल्दैन । यसको पूर्ण जिम्मेवारी तपाईँहरुले नै लिनुपर्दछ ।

आज देश यो संवैधानिक र नैतिक संकटमा पर्नुमा २ नेतालाई मात्र दोष दिएर पुग्दैन । दुई फरक स्कूलिङ्गबाट हिँडेका पार्टीको एकतापछि पनि कति पटक पार्टी टुक्रिएला भन्ने आशंकाबाट गुज्रिएको छ । कति पटक समस्या समाधानको लागि भनेर यति र उति बुँदे सहमति गरियो भनिएको छ । कति पटक निष्कर्षविहीन बैठक बसेर पुनः बस्ने मिति तोकिएको छ । के यी सबै समाधान हुन नसक्ने अजंग विषयहरू थिए ?

स्थायी कमिटी र सचिवालय सदस्यलाई ताली बजाउन छोडेर टेवल ठोकेर कुरा गर्न केले रोकेको थियो ? यदि समयमा उचित नैतिक वा राजनैतिक दबाब दिन सकेको भए यो विखण्डनको उत्कर्षमा पार्टी पुग्ने थिएन । त्यसैले यो विखण्डनकारी अवस्थाको जिम्मेवारी स्थायी कमिटीले पनि लिनुपर्दछ । पार्टी पद्धति र मापदण्डबाट चल्नुपर्दछ र त्यसलाई नेता र कार्यकर्ताले पनि साथ दिनुपर्दछ ।

जबसम्म हामी कार्यकर्ता आफ्ना स्वार्थका निम्ति नेतालाई प्रयोग गर्छौँ, तबसम्म हामीले यस्ता घटनाको सिकार बनिरहनुपर्छ । किनकी हामी घोषित वा अघोषित रुपमा गुटमा परिवर्तन हुन्छौँ । जबसम्म कार्यकर्ताले गलतको विरोध र सहीको समर्थन विधिसम्मत् र बौद्धिक तवरले गर्दैनन्, तबसम्म नेतालाई राजनीति एकतर्फी बाटो हो भन्ने भान भइरहन्छ । जुन बाटोमा पसेपछि फर्कनै मिल्दैन ।

जसरी हुन्छ साम, दाम, दण्ड, भेद प्रयोग गरेर अगाडि बढ्दै जानुपर्छ भन्ने लाग्दछ । जबकी राजनीति पेशा र नेतृत्व एकतर्फी बाटो होइन । यो त राजनैतिक उत्तरदायित्वसहितको पटकपटक आफूलाई प्रमाणित गरेर हिँड्नुपर्ने सामाजिक जिम्मेवारी हो । जसको प्रभाव समाज र नागरिक जीवनमा प्रत्यक्ष रुपमा पर्दछ । राजनीति पेशा वा जीविकोपार्जनको आधार बनुन्जेल यसमा जसरी पनि टाँसिएर रहिरहने प्रवृतिको अन्त्य हुन सक्दैन । सक्रिय राजनैतिक जीवनपछि म के गर्छु भन्ने थाहा नहुँदा, पदलाई बर्चस्वको विषय बनाएर झुण्डिरहने गलत प्रयत्नहरू हुने गर्दछन् ।

विकसित पश्चिमी देशमा पदत्याग गरेपछि सोही पदमा पुनः दाबी गरेको सायदै पाइन्छ । सानो मात्र नैतिक प्रश्न खडा भए निराकरणको लागि नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरेका थुप्रै उदाहरण छन् ।

आज दुई अध्यक्षबीचको असमझदारीको कारण उब्जिएको यो राजनैतिक र संवैधानिक संकटको बेलामा कति सजिलै हामी कार्यकर्ताहरू समय कुरेर बसेजस्तो यता की उता भनेर किनाराको साक्षी बस्दै बयान मात्र दिने होइन, एक अर्कालाई गिराउन तल्लो स्तरसम्मको अभिव्यक्ति दिने, सामाजिक सञ्जाल रङ्ग्याउनेजस्ता नानाथरीका पोस्ट् र साझेदारी गरिरहेका छौँ । नेताहरू हामी मिल्यौँ भन्दा सयौं खुन माफ, हामी मिलेनौँ भनिसक्दा एकअर्कासँग जानी दुश्मनजस्तो लड्न भिड्न तयार । प्रतिपक्ष वा शत्रुलाई गर्ने भन्दा तल्लो स्तरको व्यवहार गरिरहेका छौँ । यस्तो प्रवृत्ति विवेकशील कार्यकर्तालाई सुहाउँदैन । यो दुर्भाग्यपूर्ण हो ।

खासगरी नेपालको कम्युनिष्ट आन्दोलन सधैँ फुट, विभाजन, बिग्रह र पार्टीगत एकताबाट गुज्रिरहेको छ । विगतमा धुजाधुजा हुनेगरी पार्टी फुटेका छन् । सानासाना मुद्दामा पनि गुट उपगुट बनेका छन् । पार्टीभित्र फरक मत राख्ने वा अल्पमत गुटको अस्तित्व मेटाउन कुनै कसर बाँकी नराख्नेसम्मका घटनादेखि ध्रुविकरण हुँदै पार्टी विभाजनसम्म सामान्य घटनाजस्तो बनिसकेका छन् । पार्टी विभाजन हुँदै हुँदै गएर नामनिशाना नै मेटिने अवस्था आउँदैन भनेर भन्न सकिँदैन । सम्भावना भएका थु्प्रै विद्वान अनि प्रभावशाली नेताहरू खुम्चिएर एउटा कुनामा बसिरहेको पनि यथार्थ हामीसँगै छ । अनि विगतका गल्तीबाट पाठ सिकेर पार्टीगत एकता भएका पनि धेरै उदाहरण छन् । एउटा जीवन्त राजनैतिक पार्टीभित्र सैद्धान्तिक वा वैचारिक वस्तुमा आधारित छलफल र बहस हुनुलाई स्वभाविक मान्नुपर्दछ ।

यदि यात्राको गन्तव्य नै मिलेन र जाने साधनमा पनि मतान्तर रह्यो भने वा त्यस्तै कुनै विशेष कारणले पार्टीमा विभाजन नै भयो भनेपनि आजको स्वतन्त्र समाज र राजनैतिक परिवेशमा अचम्म मान्नु हुँदैन । तर आजको यो अन्तरपार्टी संघर्ष वैचारिक होइन, यो चुनावी घोषणापत्रमा भएका प्रतिबद्दता पूरा गर्ने सम्बन्ध पनि होइन, यो आम कार्यकर्ताको माग पनि होइन । र आम नेपाली जनताको अपेक्षा पनि होइन । यो त नितान्त व्यक्तिगत स्वार्थपूर्ति र शक्ति प्रदर्शनको कसरत मात्र हो ।

आफू र आफ्ना गुटको पक्षपोषण र आफू हावी हुने दुष्प्रयास मात्र हो यसमा आमकार्यकर्ताको भावना र नेपाली जनताको चाहाना समेटिएको छैन । साँच्चै भन्ने हो भने आजको दिनमा कमरेड माधव नेपाल अध्यक्ष बन्नु वा नबन्नु, कमरेड झलनाथ खनाल राष्ट्रपति बन्नु वा नबन्नु, कमरेड प्रचण्ड प्रधानमन्त्री बन्नु वा नबन्नु अथवा अथवा कमरेड केपी ओली प्रधानमन्त्री रहनु वा नरहनुले पार्टी र देशलाई कुनै तात्विक फरक पार्दैन । किनकी, मसहित पनि संसार चल्छ अनि मबिना पनि चल्छ ।

आज एकअर्कामा लगाइएका आरोपको छिनोफानो पार्टीभित्रै वैठकबाट हुनुपर्दथ्यो । अन्तरपार्टी संघर्षको समाधान सडकबाट खोज्नु र कलिलो प्रजातान्त्रिक अभ्यासमै नजिर बन्ने गरी संसद्को विघटन गर्नु दुवै अनुचित छन् । त्यसैले यस्तो बेमौसमी अन्तरसंघर्षमा आ–आफ्ना नेतृत्वतर्फ धारेहात पारेर खबरदारी गर्दै कार्यकर्ता एकढिक्का हुनुपर्नेमा, एक–एकतर्फ नेताहरूको फेरो पक्डिएर आफू आफ्नै धारेहात परिरहेका छौँ । जुन दुःखपूर्ण छ ।

धेरै टाढा जानु पर्दैन, माले र मार्क्सवादी मिलेर बनेको केही समयपछि पार्टी पुनः मालेको नाममा विभाजन भएको थियो । समयको कसीले जाँचेपछि पुनः विभाजित हुनु गल्ती भएको महसुस गरी माले एमालेमै विलिन भएको थियो ।
माले र मार्क्सवादी मिलेर एमाले बनेपछि कत्रो उत्साह र शक्तिप्राप्त भएको थियो । पार्टीको एकीकरण र त्यसको व्यवस्थापनमा नेतृत्वको विशेष भूमिका हुन्छ । कमरेड मदन भण्डारीले आफ्नो अगुवाईमा कमरेड मनमोहन अधिकारीसँग सहकार्य गरि पार्टी एकता सम्पन्न गर्दै गर्दा र एकतापश्चात् पनि देखाएको नेतृत्व क्षमता उनको विचारसँग मात्रै होइन, व्यवहारसँग पनि जोडिएको छ । उनको व्यक्तित्व, विचार र उनीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको सिद्धान्तले पार्टी र संगठनलाई नयाँ उचाईमा पुर्याएको थियो । आज हामी त्यही विचारको बोर्ड राखेर रित्तो पसल थापिरहेका छौँ । यहाँ ‘आत्ममूल्याङ्कन’को जरुरी छ ।

एकपटक सोचौँ त,
१. यदि जसको नेतृत्वमा निर्वाचनमा दुईतिहाइ मत प्राप्त भयो, उसैको नेतृत्वको सरकारविरूद्ध आफनै पार्टीले अविश्वासको प्रस्ताव नराखेको भए के हुन्थ्यो ? आखिर लडाइँ त अन्तरपार्टी थियो ।

२. यदि संसद्मा अविश्वासको प्रस्ताव साँच्चै आफ्नै खेमाबाट आएको भएपनि सामना गरेको भए के हुने थियो ? मृत्युलाई हत्केलामा लिएर हिँडेको मान्छेलाई पदको कति अर्थ रहन्छ ?

३, यदि आफू बसेको सरकारविरूद्ध आफ्नै गुटबाट अविश्वासको प्रस्ताव ल्याउन खोज्दा यो अनैतिक प्रकृया हो, हामी यसकाे बिरोध गर्छौं । सरकार ढाल्ने खेल गलत छ । तर, संसद् विघटन गर्नु हुँदैन भनेर प्रयत्न भएको भेए के हुन्थ्यो ?

४. यदि १० बर्ष जनयुद्ध गरि टाउकाको मुल्य बोकेर हिँडेको, पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसक्नुभएको कमरेड प्रचण्ड र १५ बर्ष पार्टी महासचिव र प्रधानमन्त्री भइसक्नुभएको कमरेड माधव नेपालले अन्तरपार्टी संघर्ष र वैचारिक लड़ाइँ लड्दै गरौँला । यो आजको नयाँ कुरा होइन । तर, आफ्नो सरकार ढाल्ने काम गर्नु हुँदैन र संसद् विघटन रोक्नुपर्छ भनेर संमन्वयकारी भूमिका खेलेको भए के हुन्थ्यो ?

५. यदि मैले भनेजस्तो पद पाइनँ, मेरा मान्छेले भनेजस्तो पद पाएनन्, हामीले चाहेजति अधिकार पाएनौँ, एकलौटी सरकार चलाउन खोजियो तर पनि हामी चार महिना पर्खेर महाअधिवेशन र दुई बर्ष पर्खेर निर्वाचन सम्म धैर्य राखी वैधानिक निकास खोज्छौ भनेको भए के हुन्थ्यो ? एकलौटी सरकार चलाएको भएपनि देशै बर्वाद गरेको त थिएन ।

६. यदि भोलिको सम्भावना बाकेका, सरकार र स्थायी कमिटीमा समेत भएका युवा नेताहरू घनश्याम भुषाल, शंकर पोखरेल, योगेश भट्टराई, बर्षमान पुन, प्रदीप ज्ञवाली, राम ब. थापा, जनार्दन शर्मालगायत नेताले गुटभन्दा माथि उठेर पार्टीगत एकता र राजनैतिक स्थायीत्वको निम्ति एकबद्ध भएर सामूहिक दवाब सिर्जना गरेको भए के हुन्थ्यो ? आखिर पार्टी रहने पद रहन्छ ।

७. यदि हामी कार्यकर्ता, पार्टीको नाम एउटै, चुनाव चिन्ह एउटै, झण्डा एउटै आदि इतयादी दाबी गर्दै दुईधारमा हिँडेका नेताहरूलाई, तपाइँहरु मिल्नुहोस्, हामी कसैको पक्षमा पनि पछि लाग्दैनौँ । हाम्रा समस्या छुट्टिएर होइन, यही पार्टीभित्र, यही सहमतिको विधानमा टेकेर, आवश्यकता र औचित्यताको आधारमा टुङ्याउनुपर्छ भनेर एकता प्रस्तुत गरेको भए के हुन्थ्यो ?

यस्ता थुप्रै जिज्ञासा र प्रश्नहरू हामीसँग छन् । टुक्रिएको पार्टीभित्र, निर्वाचनमा एक अर्कालाई खुइल्याएर प्रतिपक्षलाई फाइदा पुर्याइ खण्डहर बनेको पार्टीमा कुन भविष्यको परिकल्पना गर्न सकिन्छ । सधैं टूट–फूट र गुटमा विभक्त हुनुपरेका कार्यकर्ताले कसरी फेरि नेतृत्वमा विश्वास गर्ने ।

रामायणमा, हनुमानजीलाई तिमी उड्न सक्छौ, तिमीमा पहाड़ बोक्नसक्ने तागत छ भनेर आफैँमा निहित सामर्थ्य बोध गराउनुपरेको कथा हामी सबैले सुनेकै छौँ ।

आजको हाम्रो युवा पुस्ताले पनि अन्तर्निहित नेतृत्व क्षमतालाई महसुस गर्नुपर्ने बेला आइसकेको छ । गुटभन्दा माथि उठेर पार्टी र देशको निम्ति एकजुट हुनुपर्ने वेला आएको छ । आवश्यक परेमा देश हाँक्ने र पार्टी सञचालनको जिम्मेवारी बहन गर्न तयार रहनुपर्ने दोश्रो पुस्ता आफैँमा विभक्त भएर चल्दा देश, पार्टी र हाम्रो भविष्य के होला ? नेपाली राजनीतिको सबैभन्दा ठूलो शक्ति र परिवर्तनका प्रमुख संवाहकहरु भनेकै युवा र विद्यार्थीहरु हुन् । जो आज क्षतविक्षत छन् । देश निर्माण अभियानमा जुट्नुपर्ने, विज्ञान र प्रविधिको प्रयोग गरेर पार्टी र देशलाई अघि बढाउनुपर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवहरूलाई ऊर्जाको रूपमा प्रयोग गरेर सिङ्गो देश परिचालित गर्नुपर्ने शक्तिहरू हामी यो वा त्यो नाममा बाँडिएर एकअर्कालाई नङग्याउन लागिपरेका छौँ ।

एकअर्काको अस्तित्वको धुजा धुजा उडाइरहेका छौँ । के हाम्रो विवेक, श्रोत र साधन यत्तिकोलागी मात्र हो ? कदापि होइन, त्यसैले अब हामी कार्यकर्तापंत्ति र दोश्रो पुस्ता एकजुट भइ यो राजनैतिक संकटको अन्त्य गर्न एउटा निर्णायक भूमिका खेल्नुपर्दछ । विद्यार्थी र युवा संगठनहरू एकतापछि पनि जो आ–आफ्नै अस्तित्व महसुस गरिरहेका छन् ।

एकछिन यो जटिल साँच्चै भन्ने हो भने पतनको खतरालाई महसुस गरेर कुनै ठोस निर्णय गरौँ त, त्यो निर्णय नाघ्ने हैसियत आजका हाम्रा कुनैपनि नेताको हुने छैन । एक पटक मनन् गरेर हेरौँ ।

देश आज जटिल राजनैतिक, संवैधानिक र नैतिक प्रश्नमा जकडिएको छ । यसको समाधान सहज छैन, समाधान वा निर्णयका उपाय कठोर हुनसक्दछन् । झट्ट सुन्दा अपत्यारिलो हुनसक्छ । तर, निर्णय आवश्यक छ । संसद् विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । कुनै फैसला अवश्य होला र त्यो नजिर बन्नेछ। मुद्दाको निरूपण जसरी भएपनि न्यायालय विवादित हुनेछ । अध्यादेश कायम छ, पार्टी विभाजनतर्फ ऊन्मूख छ । दलहरूका फरक–फरक विश्लेषण छन् । अन्तरपार्टी संघर्षका कार्यक्रम सडकमा चलिरहेका छन् । त्यसैले यस समस्याको समाधान खोज्न जरूरी छ । केही नगरी यसरी नै चल्ने हो भने पनि एउटा समाधान होला जुन दुखद् र अराजकताऊन्मूख हुनेछ ।

देशमा अशान्ति र अस्थिरता हुनेछ र नेपाली जनताको बलिदानीपूर्ण पटक–पटकका आन्दोलन औचित्यहिन मात्र होइन, आत्मघाती सावित हुनेछन् । संसद् विघटन होस् वा पुनर्स्थापना दुवैतर्फ आ–आफ्नै तर्क छन् । संसद् अपरिहार्य छ । विपक्षीहरू हाम्रो यो साँढे जुधाईको पर्खाइमा छन् । यदि यही अवस्थामा निर्वाचनमा जान्छु र बहुमत ल्याउँछु भन्ने हो भने अँध्यारो कोठाबाट कालो विरालो समातेर ल्याउँछु भन्नुसरह हुनेछ । विद्यार्थी, युवा र दोश्रो पुस्ताका नेताहरुको अगुवाइमा संसद् विघटन हुनभन्दा कम्तिमा एकदिन अघिको अवस्थामा पार्टी र सरकारलाई फर्काउन जरूरी छ । त्यसका निम्ति यसबीचमा पार्टीका दुवैतर्फबाट भएका सबै निर्णय फिर्ता लिने, महाअधिवेशनसम्मका लागि सहमतिमा पार्टी संचालन र नेतृत्वको जिम्मेवारी तोक्ने, सरकारलाई ५ बर्ष पूरा काम गर्न पाउने कुराको ग्यारेन्टि गर्ने र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश फिर्ता लिने । अध्यादेश नै फिर्ता भइसकेको अवस्थामा त्यसैका आधारमा रिट खारेज गरी सर्बोच्चलाई विवादित हुनबाट बचाउने ।

दुबै अध्यक्षको काम र समस्या समाधानका लागि गरिएका सहमतिको अनुगमन स्थायी समितिले गर्ने । यो पढ्दा सुन्दा हावादारी लाग्न सक्छ । तर, हामीले चाहेमा सम्भव छ । पार्टी अझै फुटिसकेको छैन । कसैको फेस सेभिङ्गको लागि कार्यकर्ता, पार्टी र देशले मूल्य चुकाउन जरूरी छैन ।

मैले मेरो लेखको शुरूमा आफ्नो बाल्यकालको बारेमा उल्लेख गर्नुको मूख्य दुई कारण छन् । पहिलो, मैले यहाँ अभिव्यक्त गरेका भावना, अनुभव र बुझाइ मजस्ता लाखौँ कार्यकर्ताको पनि हुनसक्छ र पुनः स्मरणमा ताजा हुनेछ । दोश्रो, जसरी पारिवारिक जीवनमा आमाबुवाले आफ्नो अभिभावकीय दायित्व निर्वाह गरेर जीवन र दर्शन सिकाउनुभयो, त्यसरीनै पार्टीजीवनमा नेतृत्वले त्यस्तै अभिभावकीय दायित्वपूर्ण इमान्दारीताका साथ निर्वाह गर्दै पार्टी र कार्यकर्ताहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्दछ भन्ने हो ।

आफैँले देखाएको र सिकाएको बाटोमा हिँडिरहेका कार्यकर्तालाई अनायास दिग्गभ्रमित गर्ने वा गलत बाटोमा लैजान खोज्नुलाई नेतृत्व भनिँदैन । पद्धतिविहीन र आदर्श गुमाएको नेतृत्वले राजनैतिक गन्तव्यमा पुर्याउँदैन । कार्यकर्ताले नेतृत्वबाट राजनैतिक मूल्य, मान्यता, संस्कार र आदर्शवादी शिक्षाको अपेक्षा गरेका हुन्छन् । गुट–गुटका विभक्त र निराश कार्यकर्ताहरू कुन मनोवलले जनतासामु जाने, अन्यौलमा रहेका जनताले कसलाई विश्वाश गर्ने अनि केका लागी गर्ने ?
राजनीति गर्ने र निर्वाचनमा जाने भनेकै सत्ता प्राप्ति र सरकार सञ्चालनको लागि हो । तर, दुईतिहाइको सरकार ढाल्ने वा संसद् विघटन गर्नेले फेरी चुनावमा किन जाने ? त्यसैले हेक्का रहोस् विभाजन वा विघटन समस्याको समाधान होइन । आशा गर्छौँ, नेतृत्वमा रहनुभएका नेतागणहरूले यो जटिलतालाई बुझ्नुहुनेछ र हामी कार्यकर्ता पनि यसमा हैँसेमा होष्ठे गर्न तयार हुनेछौँ ।

अन्यथा,
व्यक्तिगत स्वार्थ पार्टीगत स्वार्थभन्दा बढी भयो भने पुनः स्वेच्छाचारिता नै झल्किनेछ । जसको कसैलाई फाइदा गर्नेवाला छैन ।

(लेखक प्रवासी नेपाली मञ्च जर्मनीका संस्थापक अध्यक्ष हुन् ।) 

प्रतिक्रिया