रेशम चौधरीको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । रेशम चौधरीको मुद्दामा आज सुनुवाइ भइरहेको छ । टीकापुरमा नाबालकसहित ९ जनाको हत्या भएको घटनाका दोषी ठहर भएका निलम्बित सांसद चौधरीको मुद्दाको सुनुवाइ बिहान ११ बजेबाट शुरु भएको हो ।
उच्च अदालत दिपायलकी निमित्त रजिष्टार सीता रेग्मीले मकालु खबरलाई दिएका जानकारीअनुसार चौधरीसहित अन्य अभियुक्तको पुनरावेदनमा सुनुवाइ हुन लागेको हो । ‘अहिले सुनुवाइ हुँदैछ । ११ बजे शुरु भएको हो’, रजिष्टार रेग्मीले भनेकी छन् ।
उच्च अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले चौधरीको मुद्दा सुनुवाइ गरिरहेको छ ।
विसं २०७५ फागुन २२ गते जिल्ला अदालतले चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो । उच्च सुरक्षा अधिकारीसहित अन्य ९ जनाको हत्या घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।
उक्त फैसलाविरुद्ध चौधरीसहितका निवेदकले विसं २०७६ बैशाख २९ गते पुनरावेदन गरेका थिए ।









