के अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा बहुमत सदस्यको सहमति थियो ?

काठमाडौं । गत शुक्रबारको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन बहुमत सचिवालय सदस्यहरुको सहमतिमा आएको नेताहरुले बताएका छन् ।
पार्टीभित्र उत्पन्न संकटलाई पार लगाउने लक्ष्यसहित पाँचै जना असन्तुष्ट नेताहरु(अध्यक्ष दाहाल, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ)कै सहमतिमा ५ बुँदे उक्त प्रतिवेदन तयार पारी पेश गरिएको एक सचिवालय सदस्यले बताएका छन् ।
ती सदस्यका अनुसार उनीहरुको सल्लाहसुझावमै अध्यक्ष दाहालले उक्त प्रतिवेदन तयार पारेका थिए । उनले भनेका छन्–‘पार्टीभित्र देखिएको समस्यालाई समाधानको लागि लिखित दस्तावेजसहित बैठक बस्नुपर्छ भनेर हामीले भनेका थियौं, त्यहीँअनुसार तयार पारिएको प्रतिवेदन हो त्यो । प्रतिवेदनमा हामी पाँचै जनाको सहमति छ ।’
प्रतिवेदनमा ओलीमाथि नक्कली राष्ट्रवाद देखाएकोलगायतका आरोपहरु लगाइएको छ । खासगरी प्रतिवेदनमा गत २६ भदौको पार्टी निर्णय ओलीले नमानेपछि सबै समस्या सिर्जना भएको भनिएको छ । यसअघिका दर्जनौं बैठकहरुमा स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्न भनिए पनि ओलीले कार्यान्वयन नगरेको र पछि यस्तो फन्दामा पार्टी सर्कुलर नै फसेको असन्तुष्ट पक्षको दावी छ ।
यता ओली समूहका नेताहरुले भने अध्यक्ष दाहालले सचिवालयमा पेश गरेका प्रतिवेदन कुनै पनि हालतमा फिर्ता लिनुपर्ने माग राख्दै आएका छन् । खासगरी गोकुल बाँस्कोटा, शंकर पोखरेल, सूर्य थापालगायतका नेताहरुले भने सार्वजनिक रुपमै अध्यक्ष दाहाललाई फिर्ता लिनको लागि दबाब दिएका छन् । सामाजिक सञ्जाल (फेसबूक, ट्वीटर्…)मार्फत् यस्तो आग्रह गरेका उनीहरुको भाव प्रतिवेदन फिर्ता भए राम्रो, फिर्ता नै नभए पनि कुनै पनि पार्टी कमिटीहरुमा बहसको विषय नबनाउने देखिएको छ ।
अध्यक्ष दाहालमाथि यो प्रकृतिको दबाब सिर्जना भइरहँदा उनी निकटका नेताहरुले भने प्रतिवेदनमाथि रक्षात्मक तर्क गरेका छन् । वर्षमान पुनलगायतका नेताहरुले अध्यक्ष दाहालको प्रतिवेदनलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै नअत्तालिन आग्रसमेत गरेका छन् ।
यसबीचमा ओलीले बामदेव गौतमलाई आफूसँगै सरकारमा सामेल हुन आग्रह गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गौतमलाई भेटेरै पार्टीभित्र देखिएको समस्याबारे भूमिका खेल्न आग्रह गरेकी थिइन् । यसअघि शनिबार (हिजो) ओली शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गरेका छन् । उनीहरुबीच के कुरामा छलफल भयो भन्ने कुरा सार्वजनिक भएको छैन ।








