अखिले नेपाल किसान महासंघले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • रोसन दानी

काठमाडौं । राष्ट्रिय जनमोर्चा निकट अखिले नेपाल किसान महासंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

अखिले नेपाल किसान महासंघका कन्द्रिय सदस्य शिवहरि खनाल नेतृत्वको ११ जनाको टोलीले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

गहुँ लगाउनु भन्दा पहिले मल र बिउको आपूर्ति तुरुन्त व्यवस्था गर्नुपर्ने, सिँचाइ र सिँचाइलाई चाहिने विद्युतको सहुलियत शत् प्रतिशत अनुदान हुनुपर्ने, धानको समर्थन मूल्यभन्दा कममा किसानहरूले धान बिक्री गर्नु परिरहेकोले धानको समर्थन मूल्य तुरुन्त लागू गरियोस्, कृषि उत्पादनमा भइरहेकाे विचाैलिया प्रणाली बन्द गरि किसानको उत्पादित कृषि उपजलाई राज्यले नै किन्ने व्यवस्था गर्नुपर्ने, कोभिड १९ को उपचार सरकारले नै गर्नुपर्ने अदालतको फैसला तुरुन्त कार्यान्वयन होस्, कोभिड १९ को असरले समस्यामा परेका किसानहरूलाई तुरुन्तै राहत र पुनस्र्थापनाको व्यवस्था गरियोस्, महँगीलाई पूर्ण नियन्त्रण गरियोस्, भ्रष्टाचार तुरुन्त बन्द गरियोस् लगायत ८ सुत्रे माग सरकार समक्ष ज्ञापनपत्र मार्फत् ध्यानाकर्षण गराइएकाे छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ज्ञापनपत्र बुझ्दै मागहरूप्रति ध्यानाकर्षण भएको र आम जनसरोकारका विषय रहेका कारण प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय मार्फत् प्रधानमन्त्रीलाई पठाइने बताएको
नेपाल किसान महासंघ काठमाडौंका जिल्ला अध्यक्ष के.बी घलेले बताए ।

अखिल नेपाल किसान महासंघ केन्द्रिय सल्लाहकार शिवहरि खनालले नेपाल सरकारले किसानका तत्कालिन र दीर्घकालीन  समस्यालाई समाधान गर्न प्रभावकारी कदम नचालेकोले गम्भीर ध्यानाकर्षण नभएको भन्दै किसानका सम्पूर्ण समस्यालाई लिएर कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी मगर, अखिल नेपाल किसान महासंघ अप्फाका इन्चार्ज जगत रेग्मी, अखिल नेपाल किसान महासंघ काठमाडौंका सचिव मोहन जिसी, सदस्यहरू दयाराम लामा, मदन लामा, भक्त बहादुर बिक लगायतकाे उपस्थिति रहेको थियो । आज राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघले देशैभरबाट जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने छ ।

प्रतिक्रिया