सचिवालय बैठकअघि प्रचण्ड बालुवाटारमा

काठमाडाैं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि उनी बालुवाटार पुगेका हुन् ।
प्रचण्डले आजै दिउँसो ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बहुमत सचिवालय सदस्यहरुसँग छलफल गर्दैछन् । सचिवालय सदस्यहरूसँग छलफल गर्नुअघि उनी ओली भेट्न बालुवाटार पुगेका हुन् ।
सचिवालय बैठकका लागि दबाब दिन शुक्रबार प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेर साेमबार बैठक बाेलाउन अल्टिमेटम दिँदै पत्र बुझाएका थिए । तर प्रम ओलीले विधान अनुसार बैठक बोलाउने महासचिव विष्णु पौडेललाई सन्देश पठाएका थिए ।
यसअघि प्रचण्डले बाेलाएकाे सचिवालय बैठकमा पाँच जना सदस्य मात्रै उपस्थित भएका थिए । त्याे बैठकमा उपस्थित सदस्यहरूले बैठक बाेलाउन ओलीलाई दबाब दिने निर्णय गरेका थिए । यद्यपी प्रम ओलीले भने एजेण्डा तय नभएसम्म बैठक नबोलाउने अडान कसेका थिए ।
अहिले ओलीसँग वार्तापछि उनी बहुमत सचिवालय सदस्यसँग छलफलका लागि धुम्बाराही पुगेका छन् ।








