भोलिका लागि तय कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित, २५ गते बस्ने

काठमाडौं । सोमबार (भोलि)को लागि बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक स्थागित गरिएको छ ।

आइतबार (आज) विज्ञप्ति निकाल्दै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलिको लागि तय गरिएको बैठक २५ असोजसम्मको लागि स्थगित गरिएको जानकारी दिएका छन् ।

अर्जुनरसिंह केसी, गगन थापा, जंगीलाल राय, कल्पना चौधरीलगायतका मुख्य जिम्मेवारी सम्हालिरहेका नेताहरुलाई कोरोना संक्रमण देखिएपछि भोलिको लागि बोलाइएको बैठक स्थगित गरिएको कुरा विज्ञप्तिमा खुलाइएको छ ।

‘पीसीआर परिक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु— अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायत अन्य विविध जिम्मेवारीमा रहनुभएका केही व्यक्ति तथा काठमाडौं बाहिर परिक्षण गर्नु भएका केन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा कोभिड—१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २:०० बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २:०० बजेका लागि निर्धारित गरिएको छ ।’ मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भोलिको बैठकमा संसदको विशेष अधिवेशनसम्बन्धी प्रस्ताव सभापति शेरबहादुर देउवाले पेश गर्दै थिए । यसअघि मुख्यसचिव पौडेलले विज्ञप्ति निकाल्दै नै ५ दिनको लागि केन्द्रीय कार्यालय सानेपा बन्द गरिएको जनाएका थिए ।

प्रतिक्रिया