व्यवसायीले राष्ट्रपतिलाई भेटेर भने–‘अब लकडाउन वा निषेधाज्ञा नगरौँ’

काठमाडौँ । व्यवसायीले राष्ट्रपतिलाई भेटेर अब लकडाउन वा निषेधाज्ञा नगरौँ अनुरोध गरेका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग राष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक विषयमा छलफल गरेकी छिन् ।

राष्ट्रपति भवन शितल निवासमा शनिबार विशेषगरी विश्वव्यापी महामारीको रुपमा रहको कोरोना पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको थियो ।

छलफलमा राष्ट्रपति भण्डारीले उद्योगी व्यवसायीहरुबाट आएका सुझावहरुलाई सकारात्मक रुपमा लिई त्यसको कार्यान्वयनमा पनि सहयोग गर्ने धारणा व्यक्त गरेकी थिइन् ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलीमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु अनुज अग्रवाल र निर्वाण चौधरीको उपस्थिति थियो ।

यसक्रममा परिसंघका पधाधिकारीहरुले राष्ट्रपति समक्ष कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञाजस्ता व्यवस्थाहरु अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नु भन्दा कर्मचारीहरु र कामदारको मनोवल उच्च बनाई सुरक्षा उपायहरु अवलम्बन गरी उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्नुपर्ने माग राष्ट्रपति भण्डारी समक्ष राखेको थियो ।

द्योग प्रतिष्ठानहरुले राजश्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहको र यस अघिपनि उल्लेख्य राजश्व दाखिला भएको जानकारी गराउँदै वर्तमान अवस्थामा सृजना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधीभन्दा एक महिना समय थप गर्ने व्यवस्थाको लागि समेत अनुरोध गरेको थियो ।

यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजश्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीहरुलाई सहज हुने धारणा परिसंघको रहेको थियो ।

प्रतिक्रिया