सामुदायिक वनको रुख काटेको छानविन गर्न अनुसन्धान अधिकृत तोकियो, होला त मेयरलाई कारबाही ?

धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा भालढुंगा सामुदायिक वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटिएको घटनामा डिभिजन वन कार्यालय सुनसरीले अनुसन्धान अधिकृत तोकेको छ । डिभिजन वन कार्यालयका सुनसरीका निमित्त प्रमुख ज्ञानकुमार लामाले सोमबार सव डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्र प्रसाद यादवलाई अनुसन्धान अधिकृत तोकेका हुन् ।
यसअघि नै यादवले रुख कटानका सम्बन्धमा बरामदी मुचुल्का तयार गरी वन समूहका पदाधिकारीहरुसँग सोधपुछ समेत गरेर शुक्रबार डिभिजन वन कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएका थिए । सोहि आधारमा घटनाको गहिरो अनुसन्धान गर्न यादवलाई नै अनुसन्धान अधिकृत तोकिएको डिभिजन वन कार्यालयका सुनसरीका निमित्त प्रमुख ज्ञानकुमार लामाले बताए । यादवलाई अनुसन्धानमा सहयोग गर्न प्रशासन प्रमुखलाई पनि निर्देशन दिइएको छ ।
गत भदौ १३ गते धरान उपमहानगरपालिका वडा नं. २० स्थित भालुढुंगा वन क्षेत्रमा सालको रुख अवैधरुपमा काटिएको थियो । उक्त सालको रुख धरान नगरप्रमुख तिलक राईको निर्देशन र वन समूहका कोषाध्यक्ष भीम बस्नेतको समेत संलग्नतामा काटिएको भन्दै अनुसन्धान र कारबाही गर्न वन समूहका अध्यक्ष बुद्धिमान तामाङले किटानी निवेदन दिएका थिए ।
नगरप्रमुख राईले मावली गाउँमा घर बनाउनको लागि आमाको नाममा काठ माग गर्दै वन समूहमा निवेदन दिएको तर, वन समूहले आवश्यक निर्णय नगर्दै धरानबाटै रुख काट्ने मान्छेहरु आफ्नो स्करपीयोमा हालेर मेयरले शनिबारका दिन रुख काटेको केही स्थानीय र वन समूहका अध्यक्षको भनाई छ ।
दोषी देखिए मेयरलाई कारबाही होला त ?
यो प्रश्न अहिले धरानमा टड्कारो रुपमा उब्जिएको छ । सालको रुख कटानमा मेयरको संलग्नता हुन सक्ने गरी अडियो नै बाहिरिएको छ । उक्त अडियो र वन समूहका अध्यक्षकै किटानी जाहेरीले मेयरलाई संकट परेको छ ।
त्यसमाथि रुख काट्न गएका धरानका ४ जनाले मेयरले नै लगेको अभिब्यक्ति दिएकाले घटनामा मेयरको संलग्नता भएको पुष्टि हुने आधार छ । तर, स्पष्ट रुपमा कसैले मेयरकै संलग्नतामा रुख काटेको भन्ने आधार मान्न नसकिएकोले कारवाही हुन्छ भन्नेमा आशंका उब्जिएको स्थानीयले बताएका छन् ।
‘अडियोले स्वर उहाँको हो भन्नेमा हामी विस्वस्त छौं, उहाँले वन समुहका अध्यक्षलाई समेत माफि मागेकोपनि हो । अब अनुसन्धान अधिकृतले कसरी अनुसन्धान गर्छन् त्यो हेर्न बाँकी छ ।’ विष्णुपादुका २० का एक स्थानीयले भने ।
यस्तो छ कानुन
वन ऐनले २०७६ ले राष्ट्रिय वन भित्रको रुख बिरुवा काट्ने कार्यलाई दण्डनीय बनाएको छ । ऐनको दफा ४९ (छ)ले ’राष्ट्रिय वनक्षेत्रको रुख वा बिरुवा काट्ने, हाँगा बिँगा छिमल्ने, खोटो वा बोक्रा झिक्ने वा कुनै पनि प्रकारले नोक्सानी गरेमा’ कसुरको रूपमा हेरेको छ ।
रुख काटेको विषयमा बिगोको आधारमा एक महिना देखि २ वर्ष सम्म कैद र आर्थिक जरिवानाको व्यवस्था छ । ऐनको दफा ५० को उपदफा ६ ले सजायको व्यवस्था गरेको छ । उपदफा ६ (ङ)एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको बिगो भए एक वर्षसम्म कैद वा बिगो बमोजिम जरिबाना वा दुवै, तथा (च) पाँच लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद वा बिगोको दोब्बर जरिबाना वा दुवै हुने व्यवस्था छ ।
अध्यक्ष एक्लो भए
यता आइतबार बसेको वन समूहको कार्यसमिति बैठकमा वन समूहका अध्यक्ष वाहेक अन्य सदस्यहरुले मेयरले नै रुख काट्न लगाएको हो भन्ने विषयमा सहमत भएनन् । वन समूह अध्यक्ष बाहेक अन्य ८ जनाले रुख कस्ले काटेको हो भन्ने थाह नभएको र खोजी भइरहेको भन्ने व्यहोराको माइन्युट गर्दै वन कार्यालयलाई जवाफ पठाएका छन् । समुहका अधिकांश सदस्यहरुले मेयरको पक्ष लिएपछि अहिले वन अध्यक्ष अल्पमतमा परेका छन् ।
यता धरान नगरप्रमुख राईले रुख आफ्नो निर्देशनमा नकाटेको दाबी गर्दै आएका छन् । आफूलाई सुनियोजित रुपमा फसाउने षडयन्त्र गरेको प्रष्टीकरण दिँदै आएपनि उनको अडियो सार्वजनिक भएपछि चैं चौतर्फी मेयरको आलोचना भइरहेको छ ।









