उपत्यका कोरोनाको ‘हटस्पट’ बन्ने खतरा, यी ७१ स्थानमा भेटिए ७२७ संक्रमित

काठमाडौं । सरकारले ०७६ चैत ११ गतेबाट शुरू भएको लकडाउन यही साउन ७ गते अन्त्य भएको औपचारिक घोषणा गर्‍यो । त्यो बेला संक्रमणदर उरालो लाग्दैथियो तर, विडम्बना लकडाउन खेलेकै दिनदेखि संक्रमितको संख्या बढ्न थाल्यो ।

कोरोना भाइरसका कारण लगाइएको लकडाउन अन्त्य गरेपछि झापा, विराटनगर, बाँकेजस्ता सहरमा संक्रमितको सङ्ख्या बढेको पाइयो । त्यसलगत्तै ती ठाउँहरूमा लकडाउन पुनः लगाइएको छ । संक्रमितको संख्या बढिरहँदा अस्पतालहरूले पर्याप्त सेवा दिन नसकिरहेको भनिएको वीरगन्जमा त निषेधाज्ञा नै जारी गरिएको छ ।

खासगरी केही सातादेखि वीरगन्ज र भारतसँग सीमा जोडिएका अन्य सहरहरूमा संक्रमितको संख्या बढेको छ भने देशको संघीय राजधानी काठमाडौंमा संक्रमण व्यापक रूपमा फैलिन सक्ने जोखिक बढेको छ । संक्रमण देखिएका अन्य जिल्लाबाट मानिसहरू आउने क्रम जारी रहेको र भविष्यमा बढ्न सक्ने भएकाले काठमाडौं उच्च जोखिममा रहेको जनस्वास्थ्यविद् डा. सेनेन्द्रराज उप्रेतीले बताए ।

                   गाईजात्राका दिन भक्तपुरको मध्यपुर थिमिमा एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा निकालिएको गाईजात्रा ।

लकडाउन अघि र पछि सङ्क्रमणको दर २.८ प्रतिशतबाट बढेर ३.६ प्रतिशत पुगेको तथ्याङ्क छ । सार्वजनिक स्थलमा मानिसहरूको मास्क नलगाउने र भौतिक दूरी कायम नगर्ने कारणले भविष्यमा स्वास्थ्यसम्बन्धी गम्भीर सङ्कट निम्तिनसक्नेमा डा. उप्रेतीले चिन्ता व्यक्त गरे ।

जनघनत्व धेरै भएका विदेशका सहरमा कोरोना संक्रमितको संख्या बढ्न धेरै समय नलागेको देखिएकोले नेपालमा पनि त्यही अवस्था आउन सक्ने चेतावनी विज्ञहरूको छ । ‘मानिस सचेत भएका विदेशी सहरमा सङ्क्रमण नियन्त्रणमा पनि आएको छ भने लापरबाही गर्ने सहरमा सङ्क्रमण निकै छिटो बढेको पनि छ, यी दुवै खालका उदाहरण छन्,’ जनस्वास्थ्यविज्ञ डा. शरद वन्तले भने– ‘हामीले कुन उदाहरण मान्ने भन्ने मुख्य विषय हो ।’

‘भोलि काठमाडौं ‘हटस्पट’ बन्न सक्छ भन्ने सम्भावना ख्याल गरेर सरकारले र आमनागरिकले त्यसैअनुसार सचेत भएर काम गर्नुपर्छ,’ उनले भने । लकडाउन खुकुलो पारिएपछि खासगरी जनसङ्ख्या धेरै भएकै ठूला सहरहरू सङ्क्रमण धेरै देखिएकाले पुनः लकडाउनमा फर्किएका छन् । काठमाडौंमा पनि जोखिम उच्च रहेकाले त्यो लकडाउनमा जानुपर्ने स्थिति आउन सक्ने विज्ञको चेतावनी छ ।

संक्रमितको संख्या ७ सय नाघ्यो
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७२७ पुगको छ । मंगलबार ६३ जना संक्रमित भेटिएसँगै संक्रमितको संख्या ७२७ पुगको हो । उपत्यकाका जिल्लाहरू काठमाडौंमा ५४१जना, ललितपुरमा १०९ जना र भक्तपुरमा ७७ जना कोरोना संक्रमित पुगेका छन् ।

बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पाँच गुणाले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढिरहेको देखिएको हो । उपत्यकामा करीब एक महीनाको अन्तरमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै पाँच गुणाले बढेको देखिएको छ ।यी हुन् संक्रमित भेटिएका ७१ स्थान
काठमाडौंः कपुरधारा, कपन, चन्द्रागिरि, मैचीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमुल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, वसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु, कुलेश्वर ।

ललितपुरः महालक्ष्मी, महालक्ष्मी स्थान, बुङ्मति, लुभु, लगनखेल, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाँउ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जावलाखेल, गोटीखेल, कुपण्डोल, ग्वार्को, ठेचे ।

भक्तपुरः सल्लाघारी, दुवाकोटा, बागेश्वरी, दुधपाटी, बालकोट, गठ्ठाघर, बोडे, भोलाछे ।

बढी जोखिम क्षेत्रः बैंक तथा वित्तिय संस्था, सार्वजनिक स्थान, पार्क, सार्वजनिक यातायात, होटल तथा रेष्टुरा आदि ।

प्रधानमन्त्रीद्वारा विज्ञसँग छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारी रोकथामका बारेमा विषय विज्ञ तथा विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका छन् । लकडाउन खुलेपछि कोरोनाभाइरस महामारीको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न विज्ञहरूसँग परामर्श गरेका हुन् ।मंगलबार भएको छलफलमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीले भने- ‘एकैपटक लकडाउन खुल्यो भन्दा जनतामा गलत अर्थ दिने सन्देश गएको छ । आंशिक लकडाउन लामो समय राखिराख्नुपर्छ।’ डा. कार्कीका अनुसार बैठकमा उपस्थित झण्डै डेढ दर्जन विज्ञहरूले थप दुई साता देशव्यापी लकडाउन लगाउनुपर्ने, स्थानविशेषको प्रभाव हेर्दै ती ठाउँमा मात्र लकडाउन लगाउन सकिनेदेखि केहीसमय कर्फ्यु नै लगाउनुपर्ने सुझाव दिएका थिए ।

यी हुन् विज्ञका थप सुझाव
-परीक्षण गरिएका शङ्कास्पद मानिसहरूलाई रिपोर्ट नआउँदासम्म यात्रा गर्न दिन नहुने
-आंशिक लकडाउन कायम राख्दै त्यसका सम्भावित चरणहरू स्पष्ट पार्नुपर्ने
-विदेशबाट आएकाहरूबाट सङ्क्रमण सर्ने घटना रोक्न देशभित्रकै विभिन्न नाका र देश छिर्ने नाकामा अनुगमन प्रभावकारी गर्नुपर्ने
-काठमाडौंमा थप ‘टस्पट’को पहिचान गर्न समुदाय स्तरमा परीक्षण बढाउने
-सवारी यातायातमा जोरविजोर प्रणाली उपयुक्त हुने
-रेष्टुराँहरूमा भइरहेका त्यहीँ बसेर खानेजस्ता नियम दुरूपयोगको अनुगमनका साथै र नियम नमान्नेलाई कारबाही हुनुपर्ने
-सङ्क्रमित स्वास्थ्यकर्मीको उद्धार, उपयुक्त उपचार र मनोबल बढाउने कामलाई उच्च प्राथमिकता दिनुपर्ने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =