बाढी, पहिरोजन्य प्रकोप व्यवस्थापन र उद्दारमा नेपाली सेनाको सक्रियता (फोटोफिचर)

विराटनगर । मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी पहिरोजन्य प्रकोप बढेको छ । पहाडमा पहिरो र मधेसमा डुबानका कारण वर्षेनी सयौंको संख्यामा ज्यान गुमाउने गर्दछन् भने, उत्तिकै भौतिक सम्पत्ति क्षति हुने गरेको छ ।

बाढी पहिरोजन्य प्राकृतिक प्रकोपमा परेका व्यक्तिहरुको उद्दार तथा खोजि कार्यका लागि नेपाली सेनाका विभिन्न जिल्लाहरुमा तैनाथ युनिटहरुले सहयोगी भूमिका खेल्दै आईरहेका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा ल्याउनका लागि नेपाली सेना खोज, उद्दार कार्यमा निरन्तररुपमा लागिरहेका छन् । नेपाली सेना आफुसँग भएका विपद उद्धारका सामाग्रीहरुसहित खोज उद्दार, तटबन्द निर्माण, अस्थायी पुल निर्माण तथा अवरुद्ध सडकहरु सुचारु गर्ने कार्यमा खटिरहेका छन् ।

इटहरी स्थित पूर्वी पृतना हेडक्वाटरका अनुसार अविरल वर्षाका कारण मंगलबार संखुवासभा जिल्लास्थित मानेभञ्जयाङका शान्ति कुमारी खत्रीको घरमाथि पहिरो गएको थियो । पहिरोमा परि घरभित्र थुनिएका खत्रीका परिवारलाई संखुवासभा जिल्लामा तैनाथ बराह दल गुल्मका सेनाका अधिकृतको कमाण्डमा गएको १५ जनाका टोलीले उद्धारगरी संखुवासभा जिल्ला अस्पतालमा उपचारका लागि लगिएको थियो ।

सोहि दिन धनकुटामा अविरल वर्षाका कारण कोसी राजमार्गमा रुख ढलेर सडक अवरुद्ध हुँदा धनकुटा जिल्लामा तैनाथ बरख गणबाट गएको १७ जनाको टोलिले ढलेका रुख हटाई सडक सुचारु गरेको पूर्र्वी पृतना सूचना तथा जनसम्पर्क शाखाले जनाएको छ ।

त्यस्तै सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका ५ स्थित सर्दुखोलामा आएको बाढीले खेति योग्य जमिन र बस्ती डुबानमा पर्दा सो स्थानका ५० घरपरीवार विस्थापित बनेका थिए । उक्त स्थानका ५० घरपरिवारको जोखिम न्यूनिकरणका लागि सुनसरी जिल्लामा तैनाथ कृष्णदल गणबाट नेपाली सेनाका अधिकृत सहित गएको १५ जनाको टोलीले सर्दुखोलामा आवश्यक बाँध निर्माण गरी निकास कटान गर्ने कार्य गरेको पूर्वी पृतना हेटक्वाटरले जानकारी दिएको छ ।

त्यस्तै ईलाम जिल्लामा पशुपति प्रसाद गणले, भोजपुरमा फष्टरैफल गणले उक्त क्षेत्रमा वर्षाका कारण आम नागरिकलाई पर्न गएको अप्ठयारो परिस्थितिमा सक्रिय रहेर कार्य सम्पादन गरेको पूर्वी पृतना हेटक्वाटर इटहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *