स्थायी कमिटि बैठकमा केही बेर बसेर किन निस्किए प्रधानमन्त्री ओली ?

काठमाडौं । बिहीबार देखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज शनिबार पनि जारी छ । बिहान ११ बजेदेखि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भएर बाहिरिएका छन् ।

शुक्रबारको बैठकमा पनि अनुपस्थित पार्टी अध्यक्ष ओली आजको बैठकमा पनि केहीबेर सहभागी भएर बाहिरिएको एक स्थायी कमिटि सदस्यले मकालु खबरलाई जानकारी दिए । यता पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वास्थ्यमा समस्या भएका कारण ओलीले पूरा समय बैठकमा बस्न नसकेको समिति सदस्यहरुलाई जानकारी गराएका थिए ।

हिजो शुक्रबारको बैठकमा ओली सहभागी नभएपछि स्थायी कमिटिका अधिकांश नेताहरुले उनको आलोचना गरेका थिए । पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधब कुमार नेपाल, भिम रावल लगायतले शुक्रबार चर्को आलोचना गरेका थिए । शुक्रबारको बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका थिए।

आजको बैठकमा सीमा विवादबारे समिति सदस्यहरुले धारणा राख्ने कार्यतालिका छ । त्यसपछि कोरोना महामारी रोकथामबारे भइरहेका प्रयासबारे छलफल हुने बताइएको छ ।

बैठकको पहिलो दिन अध्यक्षद्वयले सम्बोधन गर्ने दिन भने ओलीले बैठकमा सरकारका उपलब्धिबारे लामो व्याख्या दिएका थिए । उनले सरकारले धेरै राम्रा काम गरे पनि पार्टीले त्यसको प्रचार गर्न नसकेको गुनासो पनि गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *