‘स्थानीय तहका साना योजना पनि बहु वर्षीय बन्ने अवस्था आयो’

काठमाडौं। नेकपाका सांसद शेरबहादुर तामाङले आय र व्ययको अनुमान यथार्थपरक हुन पर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा उनले आय र व्ययको अनुमान सही नभए केन्द्रसरकार देखि स्थानीय तहसम्मका विकासका कार्यक्रम प्रभावित गर्ने बताए।
चालु आर्थिक वर्षमा सरकारले स्थानीय तहलाई दिनुपर्ने अनुदान दिन नसक्दा स्थानीय तहका साना योजना पनि बहु वर्षीय हुन पुगेको बताए। सरकारले पठाएको सिलिङका आधारमा स्थानीय तहले योजना बनाउने हुँदा आय र व्ययको अनुमान यथार्थपरक हुन आवश्यक रहेको उनले बताए।
उनले भनेका छन्, ‘गत वर्ष व्यालेन्सिटमा कहीँ न कहीँ त्रुटि भयो। जसको कारण हामीले जति अनुदान स्थानीय तहमा पठाउनले भनेका थियौँ, त्यति पठाउन सकेनौं। पैसा पठाउन नसकेका कारण तिनीहरूका साना साना योजना पनि अब बहु वर्षीय हुँदै छन्। किन भने, हामीले पठाएको सिलिङको आधारमा तिनीहरूले योजना बनाएका थिए।’
आगामी आर्थिक वर्षमा बजेट घटेर आउने भएपछि यसले देशको समग्र क्षेत्रमा प्रभाव पार्ने उनको भनाइ छ। यसले तीन तहका विकास निर्माणका कामहरू प्रभावित गर्ने उनले बताए। त्यस कारण यथार्थपरक आय र व्ययको अनुमानमा जोड दिनुपर्ने उनले बताए।








