यस्तै एकता कायम रहने हो भने विश्वमै नमुना देश बन्नेछ नेपाल

काठमाडौँ । आज नेपालका सम्पूर्ण दलहरूमा ऐतिहासिक राष्ट्रिय एकता भएको छ । जसले विश्वलाई नै सकारात्मक सन्देश दिएको छ । नेपालका अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गरेसँगै संविधानमा रहेको निसाना छापमा पनि नयाँ नक्सा जारी गर्नको लागि संविधान संशोधनको विधेयक सर्वसम्मतले पारित भएको छ ।

सभामुख अग्नि सापकोले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित भएको घोषणा गरे । सदनमा सबैले ताली बजाएर स्वागत गरे । यसले नेपाल र नेपालीमा एक राष्ट्रिय गौरवको सन्देश दिन खोजेको छ । नेपालीहरूमा राष्ट्रिय एकताको प्रेरणा मिलेको छ । आजको दिन नेपाली जनताहरूको खुसी र गौरवको दिन बनेको छ ।

यो अभूतपूर्व एकताका साथ संविधान संशोधन विधेयक पारित नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको हो ।

दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित गरिएको हो ।

संविधानतः विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ । आजको मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता प्रदर्शन गरेका छन् ।

आज भएको मतदानमा संशोधनका पक्षमा २५८ मत प्राप्त भएको थियो । यसअघि विसं २०७२ फागुन ११ गते पहिलो पटक संविधान संशोधन भएको थियो । प्रतिनिधिसभाका कुल सदस्यमध्ये बैठकमा सहभागी २५८ जनाले मतदानमा भाग लिएका थिए । सो सङ्ख्या प्रतिनिधिसभामा तत्काल कायम २७५ सदस्यको दुई तिहाइभन्दा बढी हो । विपक्षमा पनि कुनै पनि मत परेन ।

मतदान हुनुअघि संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनिमतका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएपछि विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका थिए । त्यसपछि सांसदको दस्तखतसहितको मतदानका लागि मत विभाजन गरिएको थियो । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाम्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त विधेयकमाथि सदनमा दफावार छलफल भएको थियो ।

पक्ष विपक्ष रहेका सम्पूर्ण राजनैतिक दलहरूले आज नेपाली जनताहरूमा एक आशाको दियो बालिदिएका छन् । यसले एक सकारात्मक सन्देश दिन खोजेको छ । यसले नेपालीहरू कुनै पनि राष्ट्रिय सङ्कटमा यसरी एकता बद्ध हुनु भनेको विश्व सामु नै प्रेरणाको स्रोत बन्नु हो ।

यसल नेपालको स्वतन्त्रता, सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता, राष्ट्रियता एकता, स्वाधीनता तथा स्वाभिमानलाई अक्षुण्ण राखी तीन करोड नेपाली जनताको सार्वभौम अधिकार स्वायत्तता र स्वशासनको अधिकारलाई अझ उचाइमा पुर्‍याएको छ ।

प्रतिनिधिसभाबाट पारित भएको विधेयक अब राष्ट्रियसभामा लगिनेछ । त्यहाँ पनि प्रस्ताव प्रस्तुत गर्ने, सामान्य छलफल गर्ने, त्यसमाथि संशोधन दर्ता गराउने र प्रतिवेदनसहित विधेयक पास गरिने छ । सङ्घीय संसद्को दुवै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ संवैधानिक प्रावधान छ । राष्ट्रिय सभाको बैठक भोलि (आइतबार) बस्ने भनिएको छ ।

के यसरी नै एकता सधैँभरि एकता कायम रही रहला भन्ने प्रश्न नागरिक हरूमा उब्जिरहेको छ । यस्तै एकता कायम रहे नेपाल र नेपालीमा सुख शान्ति र समृद्धि को अनुभूति हुने छ । र वास्तवमै बुद्ध जन्मेको देश नेपाल विश्वमै शान्ति भूमि भनेर नमुना देशको रुपामा चिनिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *