सभामुखको रुलिङः अश्लील र अपमानजनक शब्द नबोल्नुस् !

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अपमानजनक र अश्लील शब्द प्रयोग नगर्न सांसदहरुलाई रुलिङ गरेका छन् ।
केही दिनयता व्यक्तिगत आपेक्षसहित एक–अर्काविरुद्ध बोल्ने क्रम बढेपछि सभामुखले आज (आइतबार) को बैठकमा दोस्रो पटक रुलिङ गरेका हुन् । कारबाहीमा भाग लिँदा शिष्टताका साथ प्रस्तुत हुन उनले आग्रह गरे ।
पछिल्लाे केही दिनयता सांसदहरूले एकअर्कालाई विभिन्न विषयमा आक्षेप लगाउँदै आएका थिए । सत्तारुढ नेकपाकी सांसद गंगा चौधरीको अभिव्यक्तिलाई लिएर पछिल्ला केही बैठकमा समाजवादी पार्टीका सांसदहरुले नामै लिएर अभिव्यक्ति दिइरहेपछि सभामुखले दोस्रो पटक रुलिङ गरेका हुन् ।
आइतबार पनि राजपा सांसद चन्दा चौधरीले उक्त विषय प्रवेश गराउन लागेपछि नियमावलीको नियम २१ (ङ) को ध्यानाकर्षण गराउँदै सभामुखले यसअघिका अभिव्यक्तिको कार्य व्यवस्था परामर्श समितिबाट विवरण लिएर छलफल गर्ने बताए ।
नियम २१ मा सदस्यहरुले बैठकका कारबाहीमा भाग लिँदा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ। ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न र कुनै व्यक्ति जाति, धर्म, भाषा, वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न नहुने’, नियमावलीको नियम २१ (ङ) मा भनिएको छ ।








