संविधान संशोधन प्रस्ताव दर्ता गराउन संसद् सचिवालयमा काँग्रेस सांसद

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरू संविधान संशोधनको प्रस्ताव दर्ता गराउन संसद् सचिवालय पुगेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला संसदबाट अस्वीकृत भएको संशोधन प्रस्तावलाई पुनः दर्ता गर्न लागिएको हो।
काँग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू चित्रलेखा यादव, प्रदीप गिरि, अमरेशकुमार सिंह, तेजुलाल चौधरी लगायतले गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न सचिवालयमा पुगेको छन्। संशोधन प्रस्ताव दर्ता गराउन आफूहरु संसद् सचिवालयमा पुगेको काँग्रेस सांसद अमरेशकुमार सिंहले जानकारी दिए।
उनले भनेका छन्, ‘पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार संशोधन प्रस्ताव दर्ता गराउन लागेका हौँ।’ शनिवार मध्यरात सकिएको काँग्रेस केन्द्रीय समिति बैठकले अघिल्लो संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो। सरकारले निशान छापमा पूर्ण नक्सा समावेश गर्नका लागि संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरी छलफलमा प्रवेश गरेको छ।
संशोधन प्रस्तावमा भाषा, नागरिकता, प्रदेशको सीमांकन हेरफेर ,राष्ट्रिय सभामा प्रतिनिधित्व लगायत छन्। पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार भएको बेला ०७४ भदौ ५ मा फेल भएको संविधान संशोधन प्रस्ताव पुनः दर्ता गर्ने निर्णय गरेको थियो। सबै संशोधन प्रस्ताव अस्वीकृत भएका थिए।








