ग्रेड वृद्धिको परीक्षा आगामी साउन १९ गतेदेखि सन्चालन हुने

२ असार, काठमाडौं । एसईई अन्तर्गत ग्रेड वृद्धिको परीक्षा आगामी साउन १९ गतेदेखि सन्चालन हुने भएको छ । परीक्षा आगामी साउन १९ गते बिहीबार देखि २६ गतेसम्म सञ्चालन हुनेछ । साउन १९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । २० गते अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीको लागि अंग्रेजी विषयको परीक्षा हुनेछ ।

साउन २१ गते अनिवार्य गणित, २२ गते अनिवार्य विज्ञान र वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत ब्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यसैगरी साउन २३ गते अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रम तर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृत तर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा हुनेछ ।

साउन २५ गते ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले सार्बजनिक गरेको परीक्षा तालिकामा उल्लेख छ ।

क-कसले दिन पाउँछन् ग्रेड वृद्धिको परीक्षा ?

‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । गत वर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड वृद्धिको परीक्षा दिन पाउँथे । तर, यस वर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डी’ प्लस र ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले पनि ग्रेड वृद्धिको परीक्षा दिन पाउने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको  छ ।

दुई विषयसम्म परीक्षामा सहभागी नभएका परीक्षार्थी पनि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

एक्जाम्टेड परीक्षार्थी यस वर्ष अन्तिम

मूल विषयमा दुई विषय भन्दा बढी अनुपस्थित रहेको र दुई विषय भन्दा बढी विषयमा ग्रेड नखुलेका परीक्षार्थी आगामी वर्षको परीक्षामा एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिन पाउनेछन् । अर्को वर्षको परीक्षामा भने यो वर्षको जस्तो आंशिक एक्जाम्टेड परीक्षा नहुने परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

आफूले प्राप्त गरेको कुनै पनि विषयको नतिजा चित्त नबुझेमा परीक्षार्थीहरुले पुनर्योग गराउन सक्नेछन् । यसका लागि परीक्षार्थीले परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वा सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत १५ दिनभित्र निवेदन दिनसक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =