यता देउवाको सपथ उता गगनको हस्ताक्षर

जेठ २४, काठमाडौं । नयाँ मन्त्रीमण्डल गठन भईसकेको अवस्थामा निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले ब्याकडेटमा हस्ताक्षर गरेर पदाधिकारी नियुक्ति गरेका छन् । उनले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्तिमा ब्याक डेटमा हस्ताक्षर गरी विश्वराज काफ्लेलाई नियुक्त गरेका हुन् ।
नयाँ मन्त्रीमण्डल गठन भईसकेको अवस्थामा निवर्तमान मन्त्री थापाले वाग्लेलाई आफ्नै निवास बोलाएर ब्याक डेटमा हस्ताक्षर गरेर नियुक्ति दिएको मन्त्रालय स्रोतले दावि गरेको छ । ‘हिजोसम्म कर्णालीमा रजिष्ट्रार नियुक्ति गर्ने र गरिएको कुनै जानकारी थिएन । आज उहाँले कसरी पत्र बुझ्नु भयो ।’ स्रोतको दावि छ ।
प्रतिष्ठानमा रजिष्ट्रार कहिले नियुक्ति हुनु भएको हो ? भन्ने विषयमा विश्वराज काफ्लेले पनि आफु नियुक्ति भएको सुन्नमा आएपनि कुनै पत्र नपाएको बताए । उनले फोन सम्पर्कमा मन्त्रीज्यूले जेठ ५ गते नै निर्णय गरेको सुन्नमा आएको बताए । उनले भने, ‘मन्त्रीज्यूले ५ गते होकी १७ गते निर्णय गर्नुभएको छ ।’ उनले भने ।
यता स्वास्थ्य मन्त्रालयका अधिकारीहरु काफ्लेलाई नियुक्ति दिइएको विषयमा अनभिज्ञ छन् । मन्त्रालयका प्रवक्ता भोगन्द्र डोटेलले आफुहरुलाई कुनै जानकारी नआएको जिकिर गरे । ‘खै हिजो अस्तिसम्म केहि थाहा थिएन । उनले ।’ भने ।
मन्त्रालयका अर्का टिप्पणी कर्ता रामकृष्ण लामिछानेले पनि आफुलाई टिप्पणी उठाएको नउठाएको कुनै जानकारी नभएको जिकिर गरे । ‘नियुक्ति गर्ने कुरा पहिला टिप्पणी उठाएर जाने कुरा हो । म अहिले अनुगमनमा छु फाइल आएको नआएको यसै भन्न सक्दिन ।’ उनले भने ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक पदाकिारीले भने २२ वा २३ गतेको डेटमा मन्त्री थापाले रजिष्ट्रार नियुक्ति गरेको सुन्नमा आएको बताए । ‘खै हामीलाई पुरै जानकारी त आएको छैन । तर, अस्ति २२, २३ गते नियुक्ति गरेको भन्ने सुन्नमा आएको छ ।’ उनले भने ।

स्वागतको तयारीमा उपकूलपति
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्क कार्यालय जाउलाखेलमा भने वाग्लेको स्वागतका लागि उपकुलपति नै फुलमाला लिएर बसेका छन् । वाग्लेलाई आजै प्रतिष्ठानमा स्वागत गर्न लागिएको हो । प्रतिष्ठानका उपकूलपति डा. राजेन्द्र वाग्लेले रजिष्ट्रार कहिले नियुक्ति भएको गरेको जानकारी नआए पनि वाग्लेसँग सम्पर्क गर्दा मन्त्रालयमा चिठ्ठी बुझ्न गएको जानकारी आएको बताए । ‘मलाई पुरै जानकारी त आएको छैन, तर उहाँ मन्त्रालयमा चिठ्ठी बुझ्दै हुनुहुन्छ भन्ने खबर आएको छ । त्यहि भएर उहाँको स्वागतका लागि सम्पर्क कार्यालयमा तयारी गरिएको छ ।’ उनले भने । उनले मन्त्रीले ब्याक डेटमा हस्ताक्षर गरेको नगरेको आफुलाई केहि जानकारी नभएको बताए ।
स्वास्थ्य मन्त्रालयमन्त्री विहिन भएको अवस्थामा वाग्लेले कसरी नियुक्ति पत्र बुझ्न सक्छन् । विचारणीय कुरा यहिँ छ । ‘उहाँ मन्त्रालयमा चिठ्ठी लिन आउनु भएको जानकारी छैन ।’ मन्त्रालय स्रोत भन्दछ ।
मन्त्रालय स्रोतका अनुसार थापाले कर्णालीसँगै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत पदाधिकारी नियुक्ति गर्ने तयारी गरेका थिए । तर, पछिल्लो समय वीपी प्रतिष्ठान र पाटनका विषयमा धेरै कुरा सञ्चारमाध्यममा आएकाले थापा पछि हटेका थिए ।








