अबैध सम्बन्ध लुकाउन भाइको हत्या, दिदीले गरिन हिरासतमै आत्महत्या

कार्तिक १३, लहान । अबैध यौनसम्बन्ध लुकाउन भाइको हत्या गरेकी एक युवतीले प्रहरी हिरासतमै आत्महत्या गरेकि छन् । भाईको हत्या आरोपमा पक्राउ परेकी सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी १६ वर्षीया प्रियंका यादवले आइतबार साँझ इलाका प्रहरी कार्यालय, विष्णुपुर, सिरहाको प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी हुन् ।
प्रहरी हिरासतभित्रै रहेको शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिप्रका सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । नुहाउन जान्छु भन्दै शौचालय छिरेकी प्रियंका ननिस्किएपछि महिला प्रहरीले ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नर्सरीमा अनैतिक सम्बन्धको प्रत्यक्षदर्शी रहेका आफ्नै ठूलो बुबाको छोरा भाइ १४ वर्षीय भवेश यादवलाई केटा साथीसँग मिलेर हत्या गरेको आरोपमा पक्राउ परेकी प्रियंका र उनका केटा साथी सञ्जयकुमार साहलाई इप्रका, मिर्चैयामा आइतबार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि मिर्चैयामा महिला थुनुवा राख्ने ठाउँ नभएकाले प्रियंकालाई विष्णुपुर लगिएको थियो ।
कात्तिक १ गते भैंसी चराउन गएकी प्रियंका र सञ्जयको शारीरिक सम्बन्ध देखेका भवेशले ‘घरमा सुनाइदिन्छु’ भनेपछि उनको हत्या भएको थियो । कात्तिक ३ गते भवेशको हत्या भएको थियो । उनलाई फकाएर एकान्तमा लगेर खुकुरीले प्रहार गरी हत्या गरेका थिए । हत्यापछि उनै प्रियंकाले भाइको शव देखेको भन्दै घरमा खबर गरेकी थिइन् ।








