कोमलको विषयमा बालकोटमा दुई भाइको झण्डै `फाइट’ !

काठमाडौं, माघ ११ । एक चेलीको किचलोमा परेर एमालेका नेताहरु जुधे बालकोटमा । पार्टीमा रहेर बर्षाैदेखि योगदान पुर्याएकालाई वाइपास गर्दै गायिका कोमल वलीलाई अध्यक्ष ओलीले काखी च्यापेपछि एमाले सचिवद्वय विष्णु पौडेल र योगेश भट्टराईबीच झण्डै हात हालहालको अवस्था सिर्जना हुन गयो । तर, ओली र कार्यकर्ताले दुबैलाई पछि थाम थुम पारे ।
राष्ट्रिय सभा सदस्यमा बिहीबार उम्मेदवारको टुंगो लगाउन अध्यक्ष ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकमा भट्टराई र प्रदेश नम्बर ५ का इन्चार्जसमेत रहेका पौडेलबीच चर्किएको भनाभनले उग्र रुप लियो । तर, कार्यकर्ताले थामथुम पारे । त्यहाँ रहेका एक एमाले नेताले बैठकले उपमहासचिव घनश्याम भुसाल र योगेश भट्राईले कोमल ओलीलाई उमेदवार बनाएको विषयमा नोट अफ डिसेन्ट लेखेका रहेछन् ।
त्यसपछि सचिव पौडेल एकाएक जंगिन पुगे । `यो नोट अफ डिसेन्ट कस्ले लेख्यो ?’ तर, भुसाल र भट्टराईले कुनै प्रतिक्रिया दिएनन् । चुपचाप बसे तर भट्टराई चुपचाप बस्न सकेनन र मुख खोले । ‘हचुवाका भरमा मनपरी गर्न पाइन्छ ?’
त्यसपछि पौडेल एकाएक जंगिन पुगे । ‘५ नम्बर प्रदेशको ईन्चार्ज म हो । मैले जे भने त्यो हुन्छ । यसमा अरुले चासो राख्नुपर्ने ठाउँ छैन ।’ त्यसपछि भट्टराईले दिउँसै तोरीको फूल देखे अनि कड्किए, ‘हामीलाई पनि थाह छ, कसको कनेक्सन कहाँ छ भनेर । लोकमान कार्कीदेखि एनसेलसम्म कहाँ–कहाँ के भएको छ सबै थाह छ । हामीलेपनि हिसाब राखेका छौ । ठूलो कुरा नगरे हुन्छ । एक दिन सबै बाहिर आउँछ । सबै हिसाब असुलिन्छ । ’ भट्टराईको भनाई उदृत गर्दै ति नेताले भने ।








