प्रचण्डको कडा आक्रोश ‘सरकार सङ्कीर्ण, राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चल्यो’

कार्तिक २९, भरतपुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सङ्कीर्ण, राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको आरोप लगाएका छन् । उनले बुढीगण्डकी जलविद्युत् आयोजना खारेज गरेर ठुलो भुल गरेको बताएका छन् । उनले सरकार जुन स्क्रिप्टले चल्नु पर्ने हो, त्यो नचलेको आरोप लगाए ।
चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका प्रचण्डले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रममा भने, ‘सरकारले एकपछि अर्को गल्ती गर्दै गएको छ ।’

दाहाल प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो । चिनियाँ कम्पनीसँग गरेको सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको बताउँदै प्रचण्डले भने, ‘सरकार प्रमुख दलहरूको सहमतिबिना अघि बढेको छ, त्यो गर्न मिल्दैन, पाइँदैन । यो सरकार आर्थिक विकास र सम्बृद्धितिर होइन, निकै सङ्कीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ भन्ने प्रमाण हो ।’ धेरै मेहनत गरेर बुढीगण्डकी आयोजनामा सम्झौता गरिएको उनले बताए ।
संसदीय समितिले निर्देशन दिएको भन्दै देउवा सरकारले हालैमात्र बुढीगण्डकी आयोजना सम्झौता खारेज गरेको थियो । ‘बुढीगण्डकी नेपालको जलविद्युतको सन्दर्भमा राष्ट्रिय गौरवको असाध्यै महत्त्वपूर्ण महत्वकाँक्षी आयोजना हो । यो आयोजना सफल भए ठुलो आर्थिक क्रान्ति ल्याउँथ्यो । यसलाई धेरै मिहिनेत गरेर टुङ्गोमा पु¥याइएको थियो । तर, के स्वार्थले हो खारेज गरेर गलत गरियो’ दाहालले भने, ‘यस विषयमा अहिले म यतिमात्रै भन्छु ।’








