निर्वाचन आयोगको निर्णय आज, भरतपुरमा मतदान कि मतगणना ?

चितवन । माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेणु दाहाल चुनावमा उत्रिएकोले भरतपुरको चुनावी भिडन्तलाई निकै महत्वका साथ हेरिएको छ । भरतपुरमा १४ दिन सम्म चलेको मत गणना निकै रोमाञ्चक बनिरहेको थियो ।

भरतपुरका महानगरपालिकामा मत गणनाको क्रममा जेठ १४ गते मत पत्र च्यात्ने काम भएको थियो । माओवादी केन्द्रका प्रतिनिधिहरुले मतगणना हुँदै गर्दा मत पत्र च्यातेका थिए ।

भरतपुर मतगणनाका विषयमा निर्वाचन आयोगले आज निर्णय गर्ने भएको छ । विहिवार चितवनबाट च्यातिएका मत पत्र बारेको प्रतिवेदन निर्वाचन आयोगमा पठाइएको थियो ।

आयोगले यथास्थितिमै मतगणना गर्ने कि पुनस् मतदान गराउने भन्ने विषयमा आज निर्णय गर्ने छ । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले आज भरतपुरका विषयमा अन्तिम निर्णय हुने जानकारी दिए ।

‘भरतपुरको जानकारी आयोगमा प्राप्त भइसकेको छ,’ शर्माले भने, ‘आयुक्तहरु आएपछि भरतपुरको विषयमा केही न केही निर्णय हुने सम्भावना रहेको छ ।’ आयुक्तहरु कार्यालयमा उपस्थित हुने समय जारी भएकोले दिउँसो सम्ममा केही निर्णय हुने उनले बताए ।

विहिवार भएको निरिक्षणमा ९० मत पत्र च्यातिएको भेटिएको छ । वडा नम्बर १९ को मतगणना हुँदै गर्दा मत पत्र च्यातिएको थियो । वडा नम्बर २० को मत पनि गन्न बाँकी रहेको छ ।

वडा नम्बर १९ को मत गणना हुँदै गर्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवाली ७ सय ३३ मतले अघि थिए । माओवादी केन्द्रकी रेणु दाहालले लगातार मतान्तर घटाइरहेकी थिइन् ।

उनले निरन्तर मतान्तर घटाउँदा पनि हार्ने अवस्था आएपछि माओवादी केन्द्रका प्रतिनिधिहरुले मत पत्र च्यातेको आरोप एमालेको छ । स्थानीय निर्वाचन ऐनमा रहेको कानुनी छिद्रलाई समातेर उनीहरु मत पत्र च्यात्ने काममा लागेको अनुमान गरिएको छ ।

मतगणना गर्नुभन्दा पहिलेनै मत पत्र नष्ट भएमा निर्वाचन आयोगले पुनस् मतगणना गराउन सक्ने प्रावधान ऐनमा रहेको छ । ऐन अनुसार अहिलेको अवस्थामा निर्वाचन आयोगले वडा नम्बर १९ मा पुन मतगणना गराउनुपर्ने अवस्था छ ।

तर आयोगले अहिले पुनस् मतदान गराएमा यस्ता घटनाहरु निरन्तर दोहोरिन सक्ने सम्भावना भएकाले अनिर्णित बनेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =