विराटनगर जुट मिल नयाँ व्यवस्थापनका साथ सन्चालनमा

मङ्सिर ११, विराटनगर । नेपालकै जेठोे उद्योगका रूपमा रहेकाे विराटनगर जुट मिल्स आइतबारबाट पूर्ण सञ्चालनमा आएको छ । वि.सं. १९९३ मा स्थापना भएको जुट मिल नयाँ व्यवस्थापनका साथ करिब ३ वर्षपछि पुनः सञ्चालन भएकाे हो । ०७१ साल भदौ १९ गतेदेखि मिल पूर्ण रूपमा बन्द भएकाे थियो ।

नयाँ व्यवस्थापनले मिल्सलाई पूर्णरुपमा आईपी सिस्टमको सीसी क्यामेराको निगरानीमा राखेर सञ्चालन गरेको छ । मिल्सका सञ्चालक सदस्य मुकुन्दप्रसाद नेपालले विधिवत रूपमा पूजा गरेर मिलको शुभारम्भ गरेका थिए । विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरी काफ्लेका अनुसार पहिलो चरणमा मिल्समा जुटको सुतली र बोरामात्रै उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

विराटनगर जुट मिल्समा रहेको दुई वटा नयाँ र पुराना मिलमध्ये पहिलाे चरणमा पुरानो मिल्सलाई सञ्चालनमा ल्याइएकाे हाे । करिब ३ करोडको लागतमा एउटा मिल सञ्चालन भएको छ । भने, थप २ करोड पुँजी व्यवस्थापन गरेर पुस महिनादेखि दुवै मिलहरु पूर्णरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालक समितिका अध्यक्ष काफ्लेले जानकारी दिए ।

आइतबारबाट सञ्चालनमा आएको मिलले दैनिक ५/६ टन जुट उत्पादन गर्नेछ भने ८५ जनाले मिलमा रोजगारी पाएका छन् । ०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐन अनुसार मिल्सले नयाँ व्यवस्थापन पाएको हाे । नयाँ व्यवस्थापनले २५ प्रतिशत सेयर अाह्वान गर्दा समेत सरकारले नलिएपछि नयाँ व्यवस्थापनका साथ कम्पनी सन्चालन भएकाे हाे ।

मिल सञ्चालक समितिका अनुसार प्रति कित्ता १ सय ६० रुपैयाँको दरमा सेयर विक्री हुँदा ४० लाख पुँजी वृद्धि भएको छ । मिल्सको कूल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर रहेको छ । यसअघि मिल्स सञ्चालनका लागि सरकारबाट पटक-पटक गरी ल्याएको १ सय १३ करोड ऋण तिर्न बाँकी थियो ।

सरकारले यसअघि सरकारले भारतीय विलसम इन्टरनेशनल कम्पनीलाई भाडामा मिल्स सञ्चालनका लागि दिएको थियो । तर, केही समय मिल सञ्चालन गरेर विविध समस्या देखाउँदै विलसन कम्पनी भारत फर्केपछि २०७२ भदौ १९ गतेदेखि मिल्स पूर्ण रूपमा बन्द भएकाे थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =