नेपालले खेल नियन्त्रणमा राखेपनि जित्न असफल

काठमाडौं – खेल नियन्त्रणमा राखेपनि गोल गर्न नसकेपछि नेपालले यमनसँगको एसियन कप छनोटमा आज गोल रहित बराबरी खेलेको छ । हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा दर्जन बढी अवसर पाएपनि गोल गर्न नसकेपछि नेपालले समूह ‘एफ’ को खेलमा यमनसँग अंक बाढेको छ । दुई खेलमा नेपालले जोडेको यो पहिलो अंक हो । २ खेलमा ४ अंक सहित यमन शीर्षस्थानमा छ । आजै समूहको अर्को खेलमा ताजकिस्तान र फिलिपिन्स बीच प्रतिस्पर्धा हुनेछ । चैतमा भएको समूहको पहिलो चरणको खेलमा फिलिपिन्सले नेपालाई ४–१ ले र यमनले ताजकिस्तानलाई २–१ ले हराएको थियो ।

पहिलो हाफको २० मिनेट बाहेक खेलमा नेपालले खेल नियन्त्रणमा राखेको थियो । दुई हाफमा गरि नेपालले झन्डै दर्जन आक्रमण गर्दा पनि गोल गर्न सकेन । दोस्रो हाफको सुरुआतबाटै नेपालले गोलको अवसर सृजना गरेको थियो । तर, सफलता हात लागेन ।

४८ औं मिनेटमा सुजल श्रेष्ठको कर्नरमा अनन्त तामाङको हेडर पोस्ट नजिकबाट बाहिरायो भने ५८ औं मिनेटमा काउन्टर एट्याकमा नवयुग श्रेष्ठले मौका गुमाए । ६४ औं मिनेटमा भरत खवासको प्रहार विपक्षी रक्षकमा डिफ्लेक्ट हुँदा प्राप्त रिबाउन्डमा अन्जन विष्टको प्रहार गोलकिपरले डाइभिङ पन्च गरे । ६७ औं मिनेटमा दायाँबाट नवयुगले एक्लै बल अघि बढाएपछि पोस्ट नजिक बल पुर्याउँदा अन्य खेलाडीको साथ पाएनन् । त्यसको एक मिनेटपछि अन्जनको पासमा भरतले झन्डै २५ यार्डबाट गरेको कडा प्रहारलाई किपरले जोगाए । ८९ औं मिनेटमा रोहित चन्दको प्रहार विपक्षी रक्षकलाई डिफ्लेक्ट भएर पोस्ट नजिकबाट बाहिरिएको थियो । ८९ औं मिनेटमा विशाल राईले झन्डै २५ यार्डबाट फ्रिकिक प्रहार गर्दा पोस्ट नजिकबाट बाहिरिएको थियो ।

नेपाली टोलीबाट भरत र सुजल को उत्कृष्ट रहेको थियो बाँकी खेलाडीको प्रदर्शन औसत मात्र रहेको थियो ।

पहिलो हाफमा नेपालले २७ औं मिनेटमा गोलका लागि सबैभन्दा राम्रो अवसर पाएको थियो । तर, अनन्त तामाङ, सुजल र भरत खवास तीनै जनाले मौकाको उपयोग गर्न सकेनन् । अन्जनको कर्नरमा पोस्ट अगाडि खाली रहेका अन्जनले बल छुटाए त्यसपछि सुजल र अन्तमा भरतले पनि ट्याप गर्दा पुग्ने बल छुटाएपछि नेपालले अग्रता लिन सकेन । लगत्तै एक मिनेटपछि अन्जनलाई विपक्षी खेलाडी पेनाल्टी बक्सको बाहिर फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो । त्यसमा सुजलको फ्रिकिक मानव पर्खालमा लागेर फर्कियो । ३६ औं मिनेटमा सुजलको लामो प्रहार विपक्षी किपरले सहजै रोके । त्यसअघि सातौं मिनेटमा मैदानको दायाँ भागमा सुजलले दिएको पासमा भरतको क्रस नवयुग श्रेष्ठले भेट्टाउन नसक्दा विपक्षीमाथिको सम्भावित संकट टरेको थियो । नवौं मिनेटमा सुजलको क्रस विपक्षी किपरले सहजै रोके । २४ औं मिनेटमा भरतको क्रसमा बल विमको माथिबाट बाहिरिएको थियो ।

यमनले पनि चारवटा प्रहार गरेपनि नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङले सफल हुन दिएनन् । पाँचौं मिनेटमा अहमिद नबिल हजाईले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार किरणले जोगाए । त्यस्तै यमनले १२ औं मिनेटमा उत्कृष्ट मुभ बनाउनका वावजुद गोल गर्न सकेन । अला मोहमद अब्दुलाह अल ससीको पासमा हजाईको वान भर्सेस वान प्रयासलाई किरणले लडेर जोगाएका थिए । यमनले दोस्रो हाफमा छिटपुट आक्रमण मात्र गरेको थियो ।

नेपालका लागि उत्कृस्ट प्रदर्शन गरेका गोलकिपर किरण चेम्जोङ ‘म्यान अफ द म्याच’ भए  ।

नेपाली टोली – किरण चेम्जोङ (गोलकिपर),विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी (७३,देवेन्द्र तामाङ), कमल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट (८९, बिमल घर्ती मगर), सुजल श्रेष्ठ, रोहित चन्द, भरत खवास, नवयुग श्रेष्ठ ( अनिल गुरुङ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =