यस्ता छन् झापालाई समृद्ध बनाउने सांसद लिङ्देनका योजना


‘हेभिवेट’ भनिएका काँग्रेसका उम्मेद्वार कृष्ण सिटौलालाई झापा–३ बाट हराएर प्रत्यक्ष निर्वाचित भएका राप्रपाका नेता राजेन्द्र लिङ्देन अहिले चर्चामा छन् । प्रतिस्पर्धी सिटौलालाई १३ हजार चार सय ५८ मतले पछि पार्दै विजयी भएका उनी चर्चामा हुनुको कारण यो पनि हो– देशैभरि राप्रपा निल हुँदा पार्टीको नाक उनले जोगाए । आइतबार स्वास्थ्य मन्त्रालयको प्राङ्गणमा भेटिएका लिँङ्देनलाई हाम्रो प्रश्न थियो,–
तपाई बाम गठबन्धनमा प्रवेश गर्दै हुनुहुन्छ रे । यो कत्तिको सत्य हो ?

ठाडै नकार्दै उनले भावी प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गर्ने बताए । अनि भने ‘मैले चाहीँ ओलीलाई प्रधानमन्त्रीमा स्वीकार गरिसकेको अवस्था छ । पार्टीले नस्वीकार्ने कुरै भएन ।’
त्यसपछि एक वर्षभित्र झापाबासीले नबिर्सने काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै उनले झापा–३ लाई समृद्ध पार्ने आफ्ना दर्जनौँ योजनाहरु मकालु खबरलाई सुनाए । कुराकानीको सुरुवातीपूर्व उनलाई सोधियो–
तपाईले ‘ट्याक ट्याक’ काम गरेर देखाउने कामको बुँदा सुनाइदिनुस त सुरुमा ?
झापा जिल्ला सुगम भनेर चिनिएपनि क्षेत्र नम्बर–३ चाहीँ पिछडिएको ठाउँ हो । त्यहाँको कैसनकवोल, बारदशी, भद्रपुरजस्ता अधिकाँश गाउँपालिकाका र नगरपालिकाहरुमा शौचालय समेत छैनन् । यातायातको त कुरा नै नगरौँ । बाटोघाटो समेत राम्ररी पुगेको छैन । त्यसैले यातायात मात्रै होइन स्वास्थ्यको अवस्था पनि दयनिय छ । यो निर्मूल पार्ने मेरो पहिलो प्राथमिकता हो ।
त्यो भन्दा ठूलो कुरो बिरिङ, मिची, देउनीया, भुतेनी, घाँगरजस्ता नदीहरुले वर्षेनी कटान र डुवान गर्ने समस्या कहाली लाग्दो छ । अब, यी नदीहरुको नियन्त्रण गर्ने सोच बनाएका छौँ । तटबन्धनको समुचित व्यवस्था र गुरु योजना तयार पार्ने मुख्य योजनाहरु अघि सार्ने भएका छौँ, यही वर्षदेखि ।
यसका अतिरिक्त लक्ष्मीपुर–राजपुर सडक, राजगढ, सैनिक मोड, गोल्लाब हुँदै राजगढ घेराबारी जाने सडक, चारपाने, बारदशी–घेराबारी–सैनिक मोड, गरामुनी, हल्दीबारी हुँदै पत्थरीया जाने सडक, भद्रपुरको सगरमाथा –हल्दीबारी–गोल्लाब हुँदै चकचक आउने सडकहरु यसै वर्षदेखि निर्माण गर्ने कार्ययोजना अघि बढाएका छु ।
अर्काे मेरो मुख्य योजना चाहीँ जंगली हात्ती नियन्त्रण गर्नेमा छ । जहाँ वर्षेनी हात्ती आतँकले ठूलो समस्या निम्त्याएको छ । त्यहाँबाट निर्वाचित भइसकेपछि मैले यसको गुरुयोजना तत्काल प्रारम्भ गर्ने तयारी थालेको छु । यसको लागि स्थानीय तह, वन मन्त्रालयसम्म छलफल र परामर्श थालनी गरिसकिएको अवस्था छ । त्यसैले हात्ती नियन्त्रण सँगै ठूला बाटाघाटोहरुको आगामी वर्षभित्रै परिवर्तन ल्याउने सोचका साथ काम गरिएको छ ।
त्यस्तै, रोजगारीतर्फ यहाँकै आन्तरिक श्रोत साधन परिचालन तथा सदुपयोग गरेर रोजगारी सिर्जना गर्नेछौँ । त्यस्तै, यहाँका स्थानीयबासी जो कोहीले त्यस्ता खालका उद्योग भित्र्याउने आँट गरे उनीहरुलाई पूर्ण साथ सहयोग गर्नेछौँ । यसका लागि उद्योगधन्दा तथा कलकारखानासम्म मोटरबाटोको निर्माण पनि गर्नेछौँ भने २५ वर्षसम्म स्थानीय कर नलिने पनि व्यवस्था गर्ने तयारी गरिरहेका छौँ । सँगसँगै सामुदायिक खेतीतर्फ प्रोत्साहन गर्नेछौँ । कृषितर्फ वैज्ञानिक पद्धति अपनाएर सामुदायिक खेती गर्ने तयारी अघि बढाएका छौँ । अग्र्यानिक, व्यवसायीक खेतीलाई प्राथमिक राखेर त्यसको बजेट विनियोजन बारेमा पनि आन्तरिक छलफल गरिरहका छौँ ।
साँसद लिङ्देनका पाँच वर्षे कालभित्रका तर दुई वर्षमै ‘कायापलट’ गरेर देखाउने योजनाहरु :
स्वास्थ्य
स्थानीय स्वास्थ्य चौकीहरुको स्तर वृद्धि गर्ने, प्रत्येक गाउँपालिकामा एउटा स्वास्थ्य चौकी स्थापना गरिनेछ । र, पूरानो मेची अस्पताललाई सके मेडिकल अस्पताल नसके एउटा विशेषज्ञ अस्पतालको रुपमा निर्माण गरिनेछ । १२ हजार घरधुरी रहेको कचलकवोल गाउँपालिकाका ६ हजार घरधुरीमा शौचालय छैन । त्यसैले यहाँ खुल्ला दिशामुक्त कार्यक्रम त पुगेकै छैन भन्दा पनि हुन्छ । अब खुल्ला दिशामुक्त गर्ने कार्यक्रम अघि सारिनेछ । त्यससँगै जनमैत्री सेवा, सुविधा बढाउने । अहिले नै यसको प्रारम्भ भने भइसकेको छ । त्यसकारण एक वर्षभित्र स्थानीय जनतालाई साँच्चिकै विकास गरेर देखायो भन्ने पारेर छाडिनेछ ।अब एकवर्षभित्र पूरै जिल्लामा शौचालयको अभाव नहुने बनाउनेछौँ ।
शिक्षा
स्वास्थ्यसँगै अर्काे त्यहाँको मुख्य समस्या भनेको शिक्षा हो । विद्यार्थीहरुले सहज रुपमा अध्ययन गर्न पाएका छैनन् । त्यसैले पहिलो प्राथमिकता विद्यार्थीहरुको अध्ययनलाई सैद्धान्तिक र व्यवहारिक बनाउन लागि पर्ने छौँ ।
सकेसम्म गाउँपालिकाका सबै विद्यालयहरुमा कम्प्युटराइज अध्ययन थालनी गरेर प्राविधि शिक्षाको सुरुवाती गर्नेछौँ । अर्कातिर निजी,सामुदायिक र सरकारी विद्यालय व्यवस्थापन गरेर शिक्षामा नयाँ मोडेलको थालनी गर्ने छौँ । यो सबैको माग पनि हो । यो गरेर नै छाड्नेछौँ । यो यहाँको मात्र नभएर राज्यको पनि पहिलो दायित्व भित्र पर्दछ ।
खानेपानी
साँच्चै सुन्दा अचम्मित पनि लाग्छ । अहिले पनि मैले निर्वाचन जितेको स्थानमा अधिकांशले गाग्रीमा पानी बोकेर पिइरहेका छन् । त्यो देख्दा मनले तत्काल त्यो अवस्थालाई खलास पारौँ भन्ने सोच्छ । त्यसैले तत्कालका लागि बारदशी गाउँपालिका–६ को सादीगुठी बासीले भोग्दै आएको खानेपानी समस्यालाई तत्काल समाधान गर्ने छौँ । यसै वर्षदेखि त्यो गाउँको मात्रै नभएर सबै गाउँ र क्षेत्रका खानेपानी समस्याको हल गर्नेछौँ । यसका लागि हामीले अहिलेदेखि नै गुरुयोजनाहरु तयार गरिसकेका छौँ । त्यसैले यहीँ आर्थिक वर्षभित्र यी खानेपानीका समस्याहरुको हल नगरी भएको छैन । त्यो गरेर छाड्नेछौँ । अर्कातिर हल्दीबारी गाउँपालिकाको क्षेत्रमा खानेपानीको अत्यधिक समस्या रहेको छ । त्यसैले कयौँ वर्षदेखि खानेपानीको योजनाहरु कचल्टिएर बसेको योजनाहरुलाई गति दिने छौँ ।
सिचाइँ
अहिले पनि झापामा ठूल–ठूला सिचाइँ आयोजनाका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । बारदशी गाउँपालिकामा सिचाइँ आयोजना निर्माणधिन भइरहेको छ । अहिले हामीले मुख्यगरी ‘डिब बोरिङ’का कार्यक्रमलाई मुख्य प्राथमिकता दिएका छौँ । यसलाई व्यवस्थित गरेर सामूहिक खेतीलाई प्रोत्साहित गर्नेछौँ ।
बिजुली 
हाल त्यहाँका कयौँ गाउँहरुमा बिजुलीको प्रकाश पुग्न सकेको छैन । कचनकवोल गाउँपालिका–१ का पिण्डलबारीबासीले बिजुलीको अनुहार देख्न पाएका छैनन् । यहीँ वर्षदेखि त्यहाँ बिजुली बत्ती पुर्याइनेछ । मुख्य चुनौती चाहीँ कहाँनिर छ भने, त्यस ठाउँमा केन्द्रीय प्रशारणको लाइनसम्म जडान भएको छैन । बारदशी गाउँपालिकामा ‘उज्यालो बारदशी’ गाउँपालिका भनेर गाउँपालिकाले बिजुली बत्तीका लागि भनेर एक करोड रकम विनियोजन गरेको छ । अब यहीँ वर्षदेखि बिजुली बत्तीले त्यस ठाउँको मुहार फेर्दै छौँ । एक वर्षभित्र बिजुली यहाँ/कहाँ पुगेको छैन भन्ने अवस्थाको सिर्जना अन्त्य हुनेछ ।
पर्यटन
झापा आफैँमा पनि पर्यटकीय हिसाबले भरीपूर्ण जिल्ला हो । खिचकबद जस्ता ऐतिहासिक महत्वका स्थल, कचनकबोल जस्ता होचो र रमणीय स्थलको विकास र प्रवद्र्धन हाम्रो प्राथमिकतामा छन् । त्यसैले पर्यटकीय सन्दर्भमा झापालाई त्यति बढाइचढाइँ गर्नु पनि आवश्यक छैन ।
सूचना र प्रविधि
विश्व समाजमा रुपान्तरण भएपनि झापा–३ लगायतका कयौँ गाउँहरुमा सूचना तथा प्रविधिको विकास भएको छैन । यसरी नेटवर्किङ समस्या अत्यधिक भएकाले त्यसलाई हटाउन पहल गरिनेछ ।
…..अन्त्यमा उनले कुराकानीलाई बिट मार्दै फेरि भने –
सरकारै कस्तो बन्छ भन्ने टुगो छैन । तर, अहिलेको जनादेश भनेको एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्नुपर्छ नै भन्ने हो । यसमा कुनै द्विविधा छैन । एमाले अध्यक्ष ओलीलाई नै फेरि एक पटक प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा र बुझाइ पनि हो । यसमा पार्टीले असमर्थन गर्ला जस्तो लाग्दैन ।








