वाम गठबन्धनलाई काउन्टर दिन भट्टराईको क्षेत्रमा कांग्रेस नेताहरु

मंसिर २, काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नं २ मा उनलाई सघाउन कांग्रेसका प्रभावशाली नेताहरु गोरखा जाने भएका छन् । लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार डा. भट्टराईको आज हुने चुनाबी सभामा कांग्रेसका बरिष्ठ नेताहरु रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य गगन थापा लगायतले सम्बोधन गर्ने बताइएको छ ।
आज पालुङटारमा नेपाली कांग्रेस र नयाँ शक्तिले संयुक्त रुपमा आयोजना गरेको चुनावी आमसभालाई पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै मंसीर ४ गते क्षेत्र नं। १ को आरुघाट बजार र क्षेत्र नं। २ को भच्चेक बजारमा हुने सभामा कांग्रेस केन्द्रीय सदस्य थापा र बालकृष्ण खाँणले सम्बोधन गर्दैछन् । यसका अलवा गोरखा–१ मा चीनकाजी श्रेष्ठलाई भोट माग्न नयाँ शक्ति पार्टीका संयोजक भट्टराई पनि मंसीर ४ मा आरुघाट जाँदैछन् ।
केही दिन अघि गोरखा भच्चेकमा आयोजित वामपन्थी गठबन्धनको सभामा माओवादी अध्यक्ष दाहालले सम्बोधन गर्दै बाबुरामलाई घर न घाटको हुन लागेको भन्दै व्यङ्ग्य गरेका थिए ।
गोरखाका छ वटा सिटमध्ये नयाँ शक्तिलाई दुई वटा दिएर कांग्रेसले चार वटा सिट लिएको छ । गोरखा–१ मा चीनकाजी श्रेष्ठ र दुवै प्रदेशमा कांग्रेसका धिरन थापा, राजेन्द्र बजगाइँ उम्मेदवार छन् । साथै गोरखा–२ प्रतिनिसभा भट्टराई र प्रदेशसभा (क) मा नयाँ शक्तिका हरिशरण आचार्य उम्मेदवार छन् भने प्रदेशसभा (ख) मा कांग्रेसका प्रकाशचन्द्र दवाडी छन् ।
कांग्रेसलाई नयाँ शक्तिले र नयाँ शक्तिका उमेद्वारलाई कांग्रेसले सघाउने सहमतिसाथ लोकतान्त्रिक गठबन्धन बनेको हो ।








