उत्तर कोरियाले नयाँ रणनीतिक अस्त्र विकास गर्ने घोषणा

पुुष १६, काठमाडौं । उत्तर कोरियाका नेता किम जङ-अनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन्। 

त्यहाँको सरकारी समाचारसंस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ रणनीतिक अस्त्र को विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएका हुन्। 

किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए। 

किम जङ-अन

तर उनले सम्भावित वार्ताका लागि ढोका खुला राखिएको सङ्केत दिएका छन्। उनले क्षेप्यास्त्र परीक्षण अमेरिकी व्यवहारमा भर पर्ने बताएका छन्। 

अमेरिकी प्रतिक्रिया 

किमको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेताले परमाणु निरस्त्रीकरणबारे एउटा सहमतिमा हस्ताक्षर गरेको बताए। 

‘मलाई लाग्छ उनी वचन राख्ने मानिस हुन्,’ संवाददाताहरूसँग फ्लोरिडामा कुरा गर्दै भने। 

किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन्। 

‘यदि किमले राष्ट्रपति ट्रम्पलाई दिएको वचन भङ्ग गरे भने त्यो एकदमै निराशाजनक हुन्छ,’ उनले सीबीएसलाई भने। 

उनका अनुसार ट्रम्पले ठूला सैन्य अभ्यास नगर्ने सहमति व्यक्त गरेपछि किमले अस्त्रपरीक्षण नगर्ने वचन दिएका थिए। ‘हामीले आफ्नो वचन राखेका छौँ। उनले पनि आफ्नो वचन राख्छन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने। 

परीक्षण स्थगन 

सन् २०१७ यता उत्तर कोरियाले कुनै पारमाणविक अथवा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको छैन। 

गत एप्रिल महिनामा किमले अमेरिका उचित अभिप्राय लिएर आए राष्ट्रपति ट्रम्पसँग तेस्रो शिखर वार्तामा भाग लिन आफू तयार रहेको बताएका थिए। 

प्रत्युत्तरमा ट्रम्पले एउटा ट्वीटमार्फत् किमको प्रशंसा गर्दै उनको धारणाको स्वागत गरेका थिए। बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =