वामपन्थी मिल्दा भुईँचालो : नेता केसी

कार्तिक २८, कपिलवस्तु । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले र माओवादी केन्द्र सहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठुलो भुईँचालो नेपाली काँग्रेसमा आएको टिप्पणी गरेका छन् ।

चन्द्रौटामा सोमबार पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले काँग्रेसले भ्रमको खेती गरेको आरोप पनि लगाए । राणा शासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिस्टले ल्याउने अधिनायकवाद पनि सहन नसक्ने भन्दै काँग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गरे ।
सरकारको स्वाद चाख्न बानी परेको दलमा वामपन्थीले बहुमत ल्यायो भने सरकारमा जान पाइन्न भनेर हल्लीखल्ली मच्चिएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीसँग भएको एक भेटको स्मरण गराए ।
केसीले आफूलाई एक दिन प्रधानमन्त्री देउवाले भेटेर देशमा दुई ठुला पार्टी मिले अब के होला ? भनेर प्रश्न गरेकाे पनि उल्लेख गरे ।
आफूले त्यस भेटमा ‘वामपन्थी मिले, ठिक भयो, तर देशमा कम्युनिस्ट शासन आउँछ भन्ने चिन्ता नगर्नू’ भनेर जवाफ फर्काएको उनले बताए । उक्त कार्यक्रममा सङ्घीयताका कट्टर विरोधी अध्यक्ष केसीले सङ्घीयताले मुलुकलाई निकास नदिने पनि दोहोर्याएका थिए । रासस








