झमकभन्दा दयनीय अवस्थाकी ‘पूरा’ को ‘नयाँ सोच’ विमोचन

काभ्रे, पुस २५ । साहित्यका क्षेत्रमा झमक घिमिरेको नाम निकै चर्चामा छ, शारीरिक रुपमा अशक्त भएर पनि साहित्यमा कलम चलाउने साहित्यकारका रुपमा । झमकले खुट्टाको औँलाको सहायतामा आफ्ना रचना लेख्ने गरेकी छन् । तर कुनै पनि यस्तो साहित्यकार नहोला जसले हात, खुट्टा केही नचल्दा पनि देब्रे हातको पौँजा (हत्केला) को पछाडीको भागको सहायताले ट्याबलेट् (मोबाइल) थिचेर आफ्ना रचना लेख्ने ।

त्यसरी आफ्नो साहित्य लेख्ने पहिलो साहित्यकारका रुपमा चिनिन्छन्, समिता श्रेष्ठ ‘पूरा’ । उनको जन्म काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन बनेपा नगरपालिका–४, शेरामा २०४७ साल पुस २४ गते भएको थियो ।

“कुरा विसं २०६३ पुस २ गतेको हो । बहिनी कक्षा ९ मा पढ्दै थिइन्, उनी परीक्षा दिएर घर आएकी थिइन्, उनी भाउजुसँग घर नजिकैको पसलमा जाँदै गर्दा अचानक बाटोमै ढलिन्,” पूराकी फुपू निर्मला श्रेष्ठले भनिन्, “ढल्ने बित्तिकै उनले दुवै हातको मुठ्ठी बाँधिन् र काम्न थालिन् ।” उनी ढल्ने बित्तिकै अस्पतालमा पु¥याएको तर चार महिना अस्पतालमा राख्दा पनि उनको अवस्था भने सामान्य नभएको उनले बताईन् ।

पहिले ह्विलचियरमा बस्न सक्ने र बोल्न पनि सक्ने पूरा अहिले भने बोल्न पनि सक्दिनन् भने ओछ्यानमा मात्रै सीमित छिन् । उनलाई परिवारले समय बिताउन ट्याबलेट् दिएको छ । त्यसमार्फत उनले समाचार हेरेर विश्वका बारेमा जानकारी लिनिछन् भने फेसबुकसमेत चलाउछिन् । ट्याब्लेट्को सहायताबाट ‘पूरा’ ले समसामयिक विषयमा विभिन्न कविता र कृतिसमेत लेखेकी छन् ।


उनको पहिलेदेखिको नै सपना थियो, आफ्नो कृति प्रकाशन गर्ने । समाजसेवी तथा शिक्षासेवीसमेत रहेकी उनकी फूपू निर्मलालाई कृति प्रकाशन गरिदिन पूराले आग्रह गर्दै आएकी थिईन् । केही समय भन्दाभन्दै आलटाल गरिरहँदा जति उपचार गरेपनि समिताको अवस्था गम्भीर हुँदै गएपछि शब्दयात्रा प्रकाशनलाई आग्रह गरेको र उनको कृति रचना गर्ने सपना पूरा भएको निर्मलाले बताईन् ।

पूरा शौचालय जान, खाना खान र आफैँ सुत्न, उठ्नसमेत सक्दिनन् । उनको सेवाका लागि उनकी आमा सावित्री खटिन्छिन् । आफ्नो अवस्थाकै कारण पढाइसमेत पूरा गर्न नसकेकी र बाहिरी दुनियाँबाट समेत अलग्गिएकी पुराको आत्मविश्वास भने बलियो छ । ‘पूरा’ उनीँ आफैँले राखेको साहित्यिक उपनाम हो ।

समिता श्रेष्ठ ‘पूरा’ को लघु उपन्यास ‘नयाँ सोच’ को विमोचनका लागि शब्दयात्रा प्रकाशनले सोमबार बनेपा–४ मा लेखिकाको जन्मोत्सवका अवसरमा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरेको थियो । विमोचन कार्यक्रममा बोल्दै प्रकाशनका अध्यक्ष हरि मन्जुश्रीले मानिस शारीरिक रुपमा अशक्त भएपनि मानसिकरुपमा उसको इच्छाशक्ति प्रबल भए जस्तोसुकै काम पनि गर्न सक्ने बताए ।
“परिवारको साथ भएन भने बलियो मान्छे पनि अशक्तजस्तै हुन्छ ।” मन्जुश्रीले भने । प्रत्येक काम पूरा गर्न परिवारको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए । पूराले लेखेका अन्य कृति पनि प्रकाशन गर्न शब्दयात्रा प्रकाशन तयार रहेको उनले बताए ।

पूराले लेखेको उपन्यास ४२ पेजको छ, जसलाई उनले २६ वटा भागमा विभाजन गरेकी छन् । उपन्यासमा उनले विदेशिएका युवालाई आफ्नै देशमा बसेर देशको विकास गर्न सुझाव दिएकी छन् भने नेपाल कृषि प्रधान देश भएकाले कृषिमा आधुनिकीकरण ल्याउनसमेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =