पञ्चेश्वर विज्ञ समुहको म्याद सकियो, बनेन डीपीआर

पुस ६, काठमाडौं । बहुचर्चिच पञ्चेश्वर परियोजनाको डीपीआर अझ बन्न सकेको छैन । भारतीय केन्द्रीय जल आयोगका सचिव नरेन्द्र कुमारको अवकाशका पछि भारतीय पक्षबाट नेतृत्व गर्ने विज्ञ नियुक्त नगर्दा पञ्चेश्वर परियोजनाको डीपीआर तयार पार्ने काम अलपत्र परेको हो ।
गत जुलाईमा डीपीआर विवाद सुल्झाउन दुवै मुलुकका विज्ञहरुको एक टोली गठन भएको थियो । नेपालबाट जल तथा ऊर्जा आयोगका सचिवले नेतृत्व गरेका थिए भने भारतबाट केन्द्रीय जल आयोगका सचिवले नेतृत्व गरेका थिए । भारतीय जल आयोगका सचिव नरेन्द्र कुमारको डेढ महिना अघि नै अवकाश पाईसकेका छन् ।

२९ माघ ०५२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिमा ६ महिनाभित्रै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर टुंगो लगाउने उल्लेख थियो । तर, २२ वर्ष बित्दा पनि त्यसको टुंगो लाग्न सकेको छैन ।
नोभेम्बरसम्ममा सबै विवाद सक्नेगरी गठित टोलीको म्याद समेत समाप्त भएको छ ।
विज्ञ समुहको बैठकले परियोजनाको कुल लागतको ३७ दशमलव पाँच प्रतिशत नेपाल र ६२ दशमलव पाँच प्रतिशत भारतले लगानी गर्नुपर्ने निष्कर्ष निकालेको थियो । पञ्चेश्वरबाट ६ हजार चार सय ८० मेगावाट विद्युत् उत्पादन गरिने र त्यसमध्ये नेपालले आधा पाउने सहमति छ ।
तीन सय १५ मिटर अग्लो बाँध रहने यो आयोजना बनाउँदा पाँच खर्ब लागत लाग्ने र १२ वर्षभित्र सम्पन्न गर्न सकिने अनुमान गरिएको छ ।








