एसइइ पछिको करियर


यसवर्ष चार लाख ६२ हजार एक सय ३६ ले एसइइ परीक्षा दिएकोमा चार लाख ४५ हजार पाँच सय ६४ जनाले १० जोड दुईको अध्ययन गर्न पाउने भएका छन् । करिब ९६ प्रतिशत भन्दा बढी विद्यार्थीले अब आफ्नो भविष्यको मार्ग कोर्ने बेला सुरुभएको छ । यस्तो बेलामा केही मात्रामा उत्साह, केही मात्रामा चिन्ता र केही मात्रामा अनभिज्ञता सँगै गाँसिएर आउँछ । विद्यार्थीहरूलाई गहन सुझाव र व्यापक अवसरसँग नजिक गराउन निकै आवश्यक रहन्छ । कुन कलेज छान्ने, कलेज छान्दा कस्ता कुरालाई ध्यान दिने, साथिभाईको सुझावलाई कसरी लिने, अभिभावकको चाहना र आफ्नो लक्ष्यलाई कसरी मिलन गराउने, उच्च शिक्षाको लागी कसरी खर्च जुटाउने, करियर प्रति कति र कसरी गम्भीर हुने भन्ने जस्ता कुराले निकै सताउँछ यो बेलामा ।
विशेषगरी मोफसलका विद्यार्थीलाई राजधानी आई अध्ययन गर्न निकै गाह्रो हुने गरेको छ । बस्ने ठाँउको टुङ्गो नलाग्दा र होस्टलमा सङ्गत नराम्रो पनि पर्नसक्ने हुँदा उनीहरूमा एक प्रकारको डरले डेरा जमाएको हुन्छ । यस्तो बेलामा पाइला नै पिच्छे होसियार हुन जरुरी छ । यो बेलामा गरेको एक गल्तीले जीवनको धार नै परिवर्तन गर्न सक्छ । फरक विद्यार्थीसँग फरक क्षमता हुन्छ । हरेक विद्यार्थीको फरक लक्ष्य हुन्छ । यो कुरालाई अभिभावक एवम् शिक्षकले राम्ररी ख्याल गर्नु पर्छ ।
कस्तो छ विद्यार्थीको चाहना ?

विद्यार्थी सिमोन सुवेदी
सर्लाहीबाट एसईई दिएका सिमोन सुवेदी अब नेपालमै विज्ञान संकाय पढ्ने भएका छन् । ३.७ जिपिए ल्याएका उनले विदेश गएर पढ्ने भन्ने सोच समेत बनाएका छैनन् । सानै देखी एमबिबिएस पढेर डाक्टर बन्ने लक्ष्य थियो, बल्ल मौका पाएको छु, खेर फाल्दिन, उनले भने । तर उनी देशको सिस्टम र राजनीतिप्रति भने शंकालु नजरले हेर्छन् ।

विद्यार्थी इसा मैनाली
यस्तै सर्लाहीबाटै एसईई दिएकी इसा मैनालीको सोच पनि सिमोनको जस्तै डाक्टर बन्ने रहेको छ । ए प्लस जिपिए ल्याएकी इसा आफ्नो नतिजा प्रति भने सन्तुष्ट हुनसकेकी छैन । यो भन्दा धेरै अङ्क ल्याउने सोचेकी थिएँ, अब प्लस टु मा मेहनत गर्छु, उनले केही असन्तुष्टी र धेरै दृढताका साथ भनिन् । कुन कलेज पढ्ने भनेर छान्न नसकेकी उनी नयाँ साथी कस्ता बन्ने हुन् भनेर झनै चिन्तित छिन् ।
मिस एसईई प्रिन्सेस मुस्कान चित्रकार
२०७४ सालकि मिस एसईई प्रिन्सेस मुस्कान चित्रकार भने मोडलिङ्गलाई नै आफ्नो करियरको क्षेत्र मान्छिन् । तर पारिवारिक सहमति त्यति नभएकाले सिए पढ्ने मनसाय बनाएकि छिन् ।
उनी भन्छिन्, ‘ अवसर त अहिले नै पनि आएको छ, तर परिवारको कुरा पनि सुन्नै पर्यो । त्यसैले अब सिए पढ्ने बिचार गरेकी छु ।’ ३.५० जिपिए ल्याएकी चित्रकारले विदेश अध्ययन बारे भने त्यति सोचिकी छैनन् । ‘भविष्यमा के होला होला तर सकभर नेपालमै बस्छु, र देशलाई सक्दो योगदान गर्छु ’, केही अस्पष्ट भावमा उनले जवाफ दिइन् ।
यी त केवल प्रतिनिधि पात्रमात्र हुन् । हरेक व्यक्तिले आफूसँग भएको क्षमता उजागर गर्नका निम्ति पहिला आफूलाई चिन्नु पर्दछ । सुफिका सुल्तान भनेर चिनिएका पाकिस्तानी गायक नुसरत फतेह अलि खानका पिता उनलाई डाक्टर बनाउन चाहन्थे । तर उनको दृढ लक्ष्य भनेको गायननै थियो । यही दृढता र यही असीम इच्छाले आज उनको भौतिक शरीर नभएपनि दुनियाँको उत्तकृष्ट गायकमा उनको देहान्तको २ दशकपछि पनि उनकै नाम लेखिएको हुन्छ ।
कुन संकायमा कस्तो छ बाटोहरु ?
आजभन्दा एक दशक अघि एसएलसी पछि के पढ्ने भन्दा अधिकाशंको एउटै जवाफ हुन्थ्यो–आईए पढ्ने । तर जब एक दशकपछिको समयलाई हामी हेछौं भने अहिले संकायपनि थपिएको छ, र साथै पढाईहुने विषय पनि । विज्ञान संकाय, व्यवस्थापन संकाय, मानविकि संकाय, शिक्षा संकायका साथसाथै अन्य प्राविधिक विषय जस्तै– सिटिइभिटि अन्तर्गतका कोर्षहरु, सङ्गीत शिक्षा आदिमा निकै विद्यार्थी आकर्षित हुने गरेका छन् ।
विज्ञानमै पनि धेरै हाँगा फैलिसकेका छन् । +२ पछि निकै फराकिलो दायरामा खेल्ने मौका प्रदान गर्छ विज्ञानले । इन्जिनियरिङ्ग, चिकित्सा विज्ञान, पाइलट, कम्प्युटर साइन्स लगायतका क्षेत्रका साथसाथै अन्य संकायमा पनि जान सकिन्छ । शिक्षण गर्नसक्ने आधार पनि विज्ञानले प्रदान गर्छ । अहिले व्यवस्थापन संकायमा पनि निकै विद्यार्थीको चाप रहने गरेको छ । तर एक दशक अघि भने व्यवस्थापन संकाय सीमित वर्गका मानिसले मात्र पढ्ने गर्थे । व्यवस्थापन किन पढ्ने भनेर खासै सूचित थिएनन् मानिसहरू । अहिले व्यवस्थापनमा होटेल म्यानेजमेन्ट, कम्युटर साईन्स, ट्राभल्स एण्ड टुरिजम्, हस्पिटालिटी म्यानेजमेन्ट, फाइनान्स आदि जस्ता विषय रहेका छन् ।
मानविकि संकाय हाल ‘थर्ड डिभिजन’ले पढ्ने विषय भनेर थंक्याइएता पनि यो संकायमा भविष्य भने निकै उज्जवल रहेको छ । निकै कम लगानी गरेर निकै नाम अनि दाम कमाउन सकिने यो संकायमा पत्रकारिता, समाजशास्त्र, अर्थशास्त्र, साहित्य, राजनीतिशास्त्र, ईतिहाँस आदि पढ्न पाइन्छ । गैसस,लोकसेवा,राजनीति,समाजसेवा लगायतका क्षेत्रमा मानविकिले निकै सहयोग गर्दछ । यस्तै शिक्षण प्रति रुचि हुनेहरुका लागी शिक्षा संकाय रहेको छ । लाईसेन्स सहितको शिक्षक हुनलाई शिक्षा संकाय पढ्न जरुरी हुन्छ ।
पढाई र खर्च
पढाइको खर्च कलेजमा भर पर्छ । राजधानीमा वार्षिक लाखौँ तिर्नुपर्ने कलेजदेखि केही हजारमै दुई वर्ष पढ्न मिल्ने कलेज समेत उपलब्ध छ । सामान्य बुझाइ के रहेको छ भने, महगों कलेजमा पढाई अनि भविष्य राम्रो हुन्छ । तर कलेजको उत्तकृष्टता परिणाममा हुन्छ, खर्चमा होइन । थोरै खर्चमा उत्तकृष्ट शिक्षा हासिल गर्न खोज्ने माध्यम वर्गिय नेपाली परिवारको लागी सामुदायिक एवम् संस्थाद्धारा सञ्चालित कलेज उपयुक्त माध्यम हुनसक्छ । यसैले पनि आजकल यस्ता सामुदायिक कलेजमा भिड बढ्न थालेको छ ।
सामान्यतया प्राइभेट कलेजहरुमा एक वर्षको विज्ञान संकाय ७० हजारदेखि एक लाख या सो भन्दा बढीमा पढाइन्छ । एसइइको अङ्क र इन्ट्रास परीक्षाको अङ्क उत्कृष्ट रह्यो भने यस मूल्यमा छुट हुने व्यवस्था समेत अधिकांश कलेजले गरेको हुन्छ ।
व्यवस्थापनको निम्ति भने ४० हजारदेखि एक लाखसम्मका कलेजहरु भेटाउन सकिन्छ । तर अधिकांश कलेजमा ५० हजार भित्र एक वर्ष पढाउने गरेको पाइन्छ । मानविकि तुलनात्मक रूपमा सस्तो संकाय हो । बढीमा ५० हजार भित्र एक वर्ष पढ्न सकिन्छ । तर ३० हजार रुपैंयामै मानविकि पढाउने कयौँ कलेज भेट्न सकिन्छ । विभिन्न छात्रवृत्तिहरु समेत प्रदान भएको बखत निकै न्यून मूल्यमा यो संकाय पढ्न सकिन्छ । शिक्षा संकाय पनि लगभग मानविकि कै मूल्यमा पढ्न सकिन्छ ।
किन हुनसकेन राम्रो पढाई मोफसलमा ?
हरेक वर्ष एसइइ पश्चात् लाखौँ विद्यार्थी आफ्नो भविष्य खोज्दै राजधानी प्रवेश गर्ने गरेका छन् । मोफसलका अधिकांश स्थानमा सरकारी कलेजको मात्र उपस्थिति छ भने पढाइमा निरन्तरता नहुनु त्यहाँको विशेषता नै रहेको छ । निरिक्षणको अभाव, विद्यार्थी सङ्गठनको विगविगि र कलेज प्रशासन निकै सुस्त हुनेहुनाले पनि विद्यार्थीको आकर्षण मोफसलका कलेजमा नपरेको मान्न सकिन्छ ।

उपप्राध्यापक गणेश पौडेल
तर रौतहट चन्द्रनिगाहपुर जनज्योति क्यामपसका उपप्राध्यापक गणेश पौडेल भने विद्यार्थीको मनोविज्ञानलाई प्रमुख कारण मान्नुहुन्छ । ‘कमजोरी छ, धेरै पक्षमा छ, तर आखिरमा पढ्ने कोर्ष त एउटै हो । बरु मैले विद्यार्थीको मनोविज्ञानमा चाँही समस्या देखेको छु । हरेक विद्यार्थी परिवर्तन चाहन्छन्, र त्यसको सुरुवात नयाँ कलेजबाट गर्छन् ’, उहाँले भन्नुभयो ।
उहाँ तराईमा हुने गरेको बन्द, हड्ताल जस्ता गतिविधिले पनि विद्यार्थीमा वितृष्णा जागेको बताउनुहुन्छ । साथै अवसरको खानीको रूपमा राजधानी परिचित रहनुले पनि विद्यार्थीको रोजाइ राजधानी नै रहने गरेको उहाँको कथन रहेको छ । तर हालैका दिनमा हेटौंडा, विराटनगर, विरगञ्ज, जनकपुर, नारायणगढ, बुटवल लगायतका स्थानमा विद्यार्थी तुलनात्मक रूपमा बढेका छन् । जसमध्य नारायणगढ भविष्यमा शिक्षाको हब नै बन्न सक्छ ।
करियर कसरी बनाउने, के भन्छन् विज्ञ
महासचिव सन्तोष प्याकुरेल
शैक्षिक परामर्श सङ्घ नेपालका महासचिव सन्तोष प्याकुरेल विद्यार्थीलाई +२ पछि मात्र विदेश अध्ययन गर्न सुझाव दिनुहुन्छ । ‘प्राय +२ अघिका विद्यार्थीको उमेरको हद लगायतका विभिन्न प्रावधानहरु अपुग भइरहेको हुन्छ, फेरी यो समयमा विद्यार्थी अलि काँचै हुनेहुनाले पनि धेरै कुराहरू व्यवस्थापन गर्न चुनौती हुने हुनाले नेपालमै अध्ययन गर्दा राम्रो हुन्छ ’ उहाँले भन्नुभयो । यस्तै करीयर छान्दा अभिभावकले छोराछोरीको इच्छा र छोराछोरीले अभिभावकको हैसियत बुझिदिनु पर्छ भन्ने समेत उहाँले जिकिर गर्नुभयो । कुन संकाय पढ्दा राम्रो भन्ने सवालमा भने उहाँले व्यवस्थापन पढेका जनशक्तिको नेपालमा निकै माग छ भन्ने जवाफ दिनुभयो ।
निर्देशक नारायण काफ्ले
ह्वाइटहाउस कलेजका निर्देशक नारायण काफ्लेले करियर छान्दा एसइइको ग्रेडिङ्ग भन्दा पनि आफ्नो समग्र विद्यालय जीवनको अकंलाई ध्यान दिन आग्रह गनुभयो । साथै उहाँले कलेज छान्दा राम्रो नाम भएको र पर्याप्त पूर्वाधार भएको कलेज छान्न आग्रह गर्नुभयो ।
‘यसबेलामा अभिभावक र विद्यार्थी बिच तालमेल नमिल्न सक्छ । एउटै मात्र उपाय भनेको अभिभावकले विद्यार्थीको चाहना बुझ्नु हो । साथै विद्यार्थीले सक्दो अभिभावकलाई सम्झाउने कोसिस गर्नुपर्दछ ’, उहाँले भन्नुभयो ।
बजारमा अहिले विज्ञान तथा प्रविधिमा अधिक माग रहेको साथै व्यवस्थापनमा पनि विद्यार्थीको अधिक चाप रहनु सकारात्मक नै भएको समेत उहाँले बताउनुभयो ।

शिक्षाविद् विद्यानाथ कोइराला
तर अरूभन्दा निकै पृथक् जवाफ दिनुभयो शिक्षाविद् विद्यानाथ कोइरालाले । उहाँका अनुसार करियर र शिक्षा बिच कुनै सम्बन्ध छैन रे । उहाँ भन्नुहुन्छ, ‘ साइन्स पढेर इन्जिनियर बनिन्छ भन्ने छैन कयौँ बेरोजगार छन् । डेन्टिस्टरी गरेकी मेरो छिमेकी हाल सहकारीमा जागिर गर्छिन् । करियर बनाउनलाई पढिन्छ भने त्यो बेकार हो, करियरको सम्बन्ध अहिले त बजारसँग छ ।’
बरु उहाँले सिप चाँही नसिकि नहुने चिज हो र हरेक व्यक्तिले पढाईसँगसँगै एउटा सिप सिकेर ‘व्याकअप’ योजना बनाउनुपर्छ भन्ने सुझाव दिनुभयो । अन्य विकसित मुलुक झैँ देशलाई आवश्यक जनशक्ति उत्पादनमा त्रिवि, योजना आयोग, शिक्षा मन्त्रालय लगायत कुनै निकायसँग ठोस विचार नहुनुले धेरै हदसम्म हानि पुगेको कुरा उहाँ बताउनुहुन्छ ।








