२० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस अाज देशभर विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौं, माघ २ । वि.स. १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।
२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेपछि २०७२ साल वैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रबिन्दू भएको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लियो ।
त्यसबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥याएको थियो । अन्य १७ जिल्लामा आंशिक क्षति पुग्यो । तर अहिलेसम्म पुननिर्माणको काम आशातित गतिमा भईरहेको छैन । दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ ।








