धनकुटामा १६ घण्टाका लागि निषेधाज्ञा खुल्यो 

धनकुटा, ८ माघ । धनकुटामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा १६ घण्टाका लागि खुलेको छ । सोमबार अपरान्ह ३ बजेबाट मङ्गलवार बिहान ७ बजेसम्मका लागि निषेधाज्ञा खुल्ला गरिएको हो ।

आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट धनकुटा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । पाँच दिनसम्मको निषेधाज्ञाले सर्वसाधारणको दैनिकी कष्टकर भएकाले सर्वसाधारणको हितलाई ध्यानमा राखेर १६ घण्टाका लागि निषेधाज्ञा खोलिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले जानकारी दिएका छन् ।

निषेधाज्ञाको अवधिमा पाँच जना भन्दा बढी मानिस समूहमा हिँड्न र प्रदर्शन गर्न नपाइने प्रावधान छ । सर्वसाधारण सहज रूपमा हिँडडुल गर्न नपाउँदा जनजीवन कष्टकर बनेको थियो ।

यसैबिच १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकिएको विरोधमा ६ दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

आमहड्तालका कारण छ दिन यता यातायातका साधन ठप्प छन् । लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन सञ्चालन हुँन नसक्दा सर्वसाधारण सास्ती खेप्न बाध्य बनेका छन् ।

बजार पसल, उद्योग धन्दा, शिक्षणसस्था लगायत पनि खुल्न सकेका छैनन् । लामो समयदेखिको बन्दका कारण बजारमा दैनिक उपभोग्य बस्तुको पनि अभाव हुँन थालेको छ ।  प्रादेशिक राजधानीको माग गर्दै धनकुटाबासीले ३८ दिनयता निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोक्ने निर्णय खारेज गरी धनकुटालाई प्रादेशिक राजधानी घोाषणा नगरिएसम्म आन्दोलन जारी राख्ने आन्दोलन परिचालन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =