वाम गठबन्धनबाट बाहिरिएका बाबुराम काँग्रेससँग हात फैलाउदै

असोज २९, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपाल वाम गठबन्धनबाट बाहिरिए पछि काँग्रेससँग तालमेल गर्ने तयारी गरेकाे छ । यसै क्रममा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । यो भेटमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा तालमेलबारे छलफल भएको स्रोतले बताएको छ ।
भट्टराई गोरखा २ बाट चुनाव लड्न चाहन्छन् । तर, आफ्नो नाममा सहमति नजुटेपछि एमाले र माओवादी केन्द्रको गठबन्धनबाट भट्टरार्इ बाहिरिएका थिए । स्रोतका अनुसार नयाँ शक्तिका नेता भट्टराईले गोरखा २ मा काँग्रेससँग तालमेल गर्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री देउवाले पनि सकारात्मक जवाफ दिएका छन् ।

‘गोरखा २ मा भट्टराईलाई समर्थन गरेपछि अन्य जिल्लामा उहाँले हामीलाई समर्थन गर्ने भन्ने छ,’ काँग्रेसका एक नेताले भने, ‘कुराकानी सकारात्मक छ । तर, टुंगो भइसकेको छैन ।’
त्यस्तै, काँग्रेस नेता चिनकाजी श्रेष्ठले गोरखा २ मा भट्टराईलाई समर्थन गर्ने सम्भावना रहेको स्वीकार गरे । नेतृ कमला पन्तले भने गोरखा २ बाट आफू चुनाव लड्ने तयारीमा रहेको बताइन् । ‘०५१ सालदेखि मैले नेतृत्व गर्दै आएको क्षेत्र हो । अहिले सुरेन्द्र पाण्डे र अब्दुल सतारसहित तीन जनाको नाम सिफारिस भएको छ,’ उनले भनिन्, ‘हामीसँग सल्लाह नै नगरी पार्टीले निर्णय गरे विरोध गर्छु ।’








