बेकह्यामले जवाफ नदिएपछि रोनाल्डिन्हो बार्सिलोना पुगेको खुलासा

एजेन्सी – सन् २००३ को ट्रान्सफर विन्डोको बेलामा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडका स्टार डेबिड बेकह्यामलाई भित्र्याउन सबै प्रक्रिया पुरा हुँदापनि अन्तमा खेलाडीले चाह नदेखाएको खुलासा भएको छ । बार्सिलोना र युनाइटेडले सबैखाले सहमति जनाएपनि बेकह्यामले भने अन्तिम समयमा रियल म्याड्रिड रोजेका थिए ।
बार्सिलोनाका त्यसबेलाका अध्यक्षका प्रत्यासी जोआन लापोर्टाले स्पेनिस पत्रिकालाई उदृत गर्दै बेकह्यामले रियलमा अनुबन्धित हुन बार्सिलोनाको प्रयोग गरेको बताएका हुन् । “हामीले क्लबसँग सबैखाले सहमति पुरा गरिसकेका थियौं । हामीले एजेन्टसँग भेटेर अन्तिम निर्णय लिन बाँकी रहेको अवस्थामा बेकह्यामले जवाफ दिन चाहेनन् । उनले कुनै निर्णय नदिएपनि त्यसको बारेमा सोच्ने बताए । तर, धेरै समय कुरेपछि हामी आजित भएर रोनाल्डिन्होलाई रोज्न बाध्य भयौं ।”

उनले त्यसको केहि समयमै रियल म्याड्रिडमा अनुबन्धन गरेका थिए । बेकह्यामले रियल म्याड्रिडमा ४ सिजन बिताउँदै १ ला लिगा उपाधि जिताउन सफल भएका थिए । उनको स्थानमा बार्सिलोनाले भित्र्याएको खेलाडी रोनाल्डिन्होले त्यसै समयमा २ ला लिगा उपाधि, एकपटक च्याम्पियन्स लिग र २ पटक विश्वको उत्कृष्ट खेलाडी जित्न सफल रहे ।








