‘रुखका पात झरेपनि जरा परिवर्तन हुँदैनन्’

काठमाडौं, माघ २२ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुखका पात झरे पनि जरा परिवर्तन नहुने बताएका छन् । राजाकै हैसियतमा भारतमा आयोजना गरिएको एक धार्मिक कार्यक्रमा सहभागि हुन त्यसतर्फ प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्रले हिंड्ने बाटो फरक भएपनि सिद्धान्तमा भने निष्ठावान भएर अडिग रहिरहनुपर्ने जिकिर गरे ।
‘हामीले धेरै कुरा प्रकृतिबाट पनि सिक्न सक्छौँ, रुखबाट पात झर्लान, तर जरा भने कहिल्यै परिवर्तन हुँदैनन् ।’ पारिवारिक भनिएको दुई साता लामो भारत भ्रमणका लागि उड्नुअघि त्रिभुवन विमानस्थलमा उनले भने ‘हिँड्ने बाटो फरक भए पनि सिद्धान्तमा निष्ठावान् भएर अडिग रहनुपर्छ ।’

स्रोतका अनुसार पूर्वराजा शाह संकटमा रहेको भारतीय देसी गाई जोगाउन सक्रिय श्रीमार्ग नामको संगठनले गर्न लागेको कार्यक्रममा सहभागी हुन भारतको उडिसातर्फ लागेका हुन् । यसअघि नेपागन्जमा करिब एक महिना बसेर शाहले हिन्दु राज्य र राजतन्त्रको पक्षमा वकालत गर्न भ्याएका थिए । त्यो बेला उनी उत्तर प्रदेशका मुख्यमन्त्रीकहाँ पुगेर यी दुई कुराको लविङमा सक्रिय भएका थिए ।
यो भ्रमणमा पनि पूर्वराजाले नेपालमा हिन्दुत्वको मुद्दाबारे भारतीय नेताहरुसँग कुरा हुन सक्ने जनाउ दिए । पूर्वराजा शाह विमानस्थलमा पुग्दा राष्ट्रिय झण्डा बोकेर राजावादी र हिन्दुवादीहरु बिदाईका लागि पुगेका थिए ।
उडिसामा शनिबारदेखि आगामी बुधबारसम्म हुन लागेको गौ संरक्षण महोत्वसमा शाहलाई प्रमुख अतिथिकारुपमा बोलाइएको छ । उनलाई पठाइएको निमन्त्रणमा नेपालका राजाकै हैसियत दिइएको छ।
पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिया पूर्वराजाले भारतमा पनि महोत्सवको अन्तिम दिन महायज्ञमा पूर्णाहुति दिने तालिका आयोजकले सार्वजनिक गरेको छ। नेपालबाट राजसिंहासन खोसिएका ज्ञानेन्द्रलाई उडिसामा भारतीय हिन्दुवादीहरुले राजसिंहासनमै राखेर अभिषेक पनि गर्ने भएका छन् ।








