हेविवेटको भिडन्तले रोमाञ्चक बन्दै चितवन क्षेत्र नं ३, प्रचण्डलाई विक्रम पाण्डेको टक्कर

मंसिर २, चितवन । चितवन क्षेत्र नं ३ को चुनावी प्रतिष्पर्धाले मुलुककै ध्यान खिचेको छ । वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पार्धाले यहाँका निर्वाचन रोमाञ्चक बन्दै गएको छ ।
एमालेको समर्थनमा चुनावी मैदानमा उभिएका पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसको समर्थनमा मैदानमा खडा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे बीचको प्रतिस्पर्धाका कारण चितवन निर्वाचन क्षेत्र नं ३ को प्रतिष्पर्धा रोचक बनेको हो ।
यही क्षेत्रमा गाभिएको यस अघिको क्षेत्र नं– ५ बाट गएको संविधानसभा निर्वाचनमा पाण्डे निर्वाचित भएका थिए । दाहाल पहिलो पटक यहाँबाट निर्वाचन लड्दै छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ र माडी नगरपालिकाका सबै वडा पर्दछन् । माडीका चार गाविस मिलेर माडी नगरपालिका बनेको हो । भरतपुर उपमहानगरपालिकामा यस अघि नारायणी र चितवन नगरपालिका गाभिएर महानगर बनेको हो । पछि थपिएका दुवै नगरपालिका क्षेत्र नं ३ मा पर्दछन् । भरतपुर महानगरपालिकाका वडा नं ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा क्षेत्र नं ३ मा पर्छ ।
जसमध्ये क्षेत्र नं। ३ को ९क० मा भरतपुर महानगरपालिकाका वडा नंं ६, ८, ९, १५ देखि २० सम्म, २६, २७, २८ पर्दछ भने (ख) मा भरतपुर महानगरपालिकाका १३, १४, २१, २२, २३, २४, २५ र माडी नगरपालिकाका सबै वडा पर्दछन् ।
यो क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता छन् । जसमा महिला ६६ हजार २७० र पुरुष ५९ हजार ५५३ रहेका छन् । क्षेत्र नं ३ को ९क० को मतदाता ६८ हजार ३६२ छ । जसमा महिला ३६ हजार ३०६ र पुरुष ३२ हजार ५६ छन् । सोही क्षेत्रको (ख) मा ५७ हजार ४६१ मतदाता छन् । जसमा महिला २९ हजार ९६४ र पुरुष २७ हजार ४९७ रहेका छन् ।
जिल्लामा कूल मतदाता तीन लाख ५४ हजार ३६ रहेको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् । कार्यालयका अनुसार एक लाख ८४ हजार ६८ जना महिला र एक लाख ६९ हजार ९६७ जना पुरुष मतदाता छन् ।
निर्वाचनका लागि क्षेत्र नं ३ मा ६२ मतदानस्थल तय गरिएको छ जहाँ १४९ मतदान केन्द्र रहेका छन् । जिल्लामा १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ ।








