लोपोन्मुख सेतो गिद्ध जाजरकोटमा

असार ३, जाजरकोट । विश्वमै लोपोन्मुख सेतो गिद्ध जाजरकोटमा फेला परेको छ । दुई वर्षदेखि नदेखिएको गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको हो ।

पक्षी संरक्षण सङ्घ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जाजरकोटमा सेतो गिद्ध फेला परेको जानकारी दिनुभयो ।
भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताउनुभयो । सक्लामा हालै फेला परेको एक जोडी सेतो गिद्धको गुँड भने फेला पार्न नसकिएको उहाँको भनाइ छ । प्रकृतिको ‘कुचीकार’ गिद्धका विभिन्न प्रजातिमध्ये सेतो प्रजातिको गिद्ध विश्वमै लोप हुने अवस्थामा पुगेको छ । विश्वमै लोप हुने अवस्थामा पुगेको सुन गिद्धको एक जोडी जाजरकोटमा दुई वर्षअघि फेला परेको थियो ।

   पाल्पामा पहिलो पटक देखिएको सुन गिद्ध जाजरकोटमा समेत देखिएको हो । चरा संरक्षण सङ्घका अनुसार विश्वमा १३ प्रकारका गिद्ध पाइन्छन् । एसियामा नौ प्रकारका पाइनेमा ती सबै नेपालमा पाइन्छन् । त्यसमध्ये चार प्रजातिका गिद्ध जाजरकोटमा पाइने गरेका छन् । सेतो गिद्ध, सुन गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध जाजरकोटमा पाइने एक अध्ययनले देखाएको छ । पक्षी संरक्षण सङ्घले गरेको अध्ययनबाट जिल्लामा ७५ हिमाली गिद्ध, तीन जोडी हाडफोर गिद्ध तथा एक एक जोडी सुन गिद्ध र सेतो गिद्ध छन् ।
जनचेतनाका अभावमा वनजङ्गलको विनाश, जथाभाबी आगलागी, गिद्धका गुँडमा ढुङ्गा हान्ने, अन्डा तानेर फालिदिने, जथाभाबी सिनोमा विष हाल्ने कारणले गिद्ध विश्वबाटै लोप हुने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =