‘सहकारी अभियानबाटै महानगरको समृद्धि तयार’

किशोर खनाल, भरतपुर । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सहकारी अभियानमार्फत भरतपुर महानगरपालिकाको समृद्धिको आधार तयार हुने बताएकी छन् । उनले देशको तिन खम्बे आर्थिक नीतिको रूपमा रहेको सहकारी अभियानलाई विकास निर्माणमा व्यापक परिचालन गरी समृद्धिको आधार तयार गर्नुपर्ने बताइन् ।

शनिवार भरतपुरमा आयोजित भरतपुर बचत तथा ऋण सहकारी संस्थाको २० औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मेयर दाहालले सहकारीमार्फत रोजगार अभियान सञ्चालन गर्न सकिने बताइन् । उनले भनिन्, ‘सहकारीहरु पारदर्शी हुनुपर्छ । सहकारीहरुले आयआर्जनमार्फत राष्ट्रिय अर्थतन्त्रमा ठुलो टेवा पु¥याउन सक्नुपर्छ ।’

मेयर रेणु दाहालले महानगरपालिकामा रहेका सहकारीहरुलाई समृद्धि अभियानको रूपमा अझै व्यवस्थित रूपमा सञ्चालन गर्न सबै प्रकारको सहयोग रहने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘सहकारीहरु छरिएर होइन, एकीकृत भएर अघि बढ्नु आवश्यक छ । आर्थिक र सामाजिक रूपान्तरणमा केन्द्रित हुन जरुरी छ ।’

मेयर दाहालले सहकारीहरु सहकार्यको ज्वलन्त उदाहरण बन्दै गएको बताइन् । ‘विशाल पुँजीको निर्माण गरेर विकासमा सहकारीहरुले ठुलो भूमिका खेल्न सक्छन्’ मेयर दाहालले भनिन्, ‘सहकारीहरु पारदर्शी भएर रोजगारमा केन्द्रित हुनु आवश्यक छ ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाहले सहकारीहरु सामाजिक विकासमा केन्द्रित हुनपर्ने बताइन् । समुदायको सानो पुँजीबाट सुरु भएका सहकारीहरु विकास र विस्तार हुँदै गएकोप्रति खुसी व्यक्त गर्दै उपमेयर पार्वती शाहले भनिन्, ‘सहकारीहरु मिल्न जरुरी छ, कमजोर पक्षहरू सच्याएर अघि बढ्न आवश्यक छ । विकास निर्माणमा आफ्नो सक्रिय भूमिका खेल्न आवश्यक छ ।’

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारी, वडा नम्बर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वा, नेपाल बचत तथा ऋण सहकारी सङ्घकी सदस्य शान्ति अधिकारी, जिल्ला सहकारी सङ्घका सदस्य भक्तिराम अधिकारी, भरतपुर चितवन जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सहसचिव केशवप्रसाद रेग्मी, सहकारी अभियान्ता केशव देवकोटालगायतले सहकारीहरुले समाजमा गतिला कामहरू गरेर अघि बढ्न आवश्यक भएको बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष इन्द्रप्रसाद रेग्मीले स्वागत मन्तव्य दिएका थिए ।

साधारण सभामा सञ्चालक समितिका अध्यक्ष तारानाथ बरालको अध्यक्षतामा सम्पन्न साधारण सभामा विभिन्न विधाका ३३ जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । ज्येष्ठ शेयर सदस्य, एसईईमा उत्कृष्ट अङ्क ल्याएका शेयर सदस्यका छोराछोरी, ऋणमा बढी ब्याज बुझाउने शेयर सदस्य, बचतमा बढी ब्याज लिने शेयरसदस्यलाई सम्मान गरिएको थियो । सञ्चालक समितिका सचिव रामप्रसाद सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । ३२ सय साधारण सदस्य रहेको यस सहकारीको १८ करोडभन्दा बढी बचत रहेको छ भने त्यति नै मात्रामा ऋण प्रवाह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =